२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


सामूदायिक बन मासेर प्रदेश राजधानी बनाउने प्रस्तावले कैलालीबासी विभाजित


0
Shares

विराज रोस्यारा/ ईमेज:

कैलाली । चुरेको फेदमा रहेको हरियो वन मासेर प्रदेश नम्बर ७ को स्थायी राजधानी बनाउने प्रस्ताव अगाडि सारेपछि कैलाली धनगढीका स्थानीबासी विरोधमा उत्रिए तर, गोदावरी नगरपालिकाका जनता भने यो प्रस्तावले उत्साहित भएका छन् ।

प्रदेशको नामाङ्कन र स्थायी राजधानी सम्बन्धमा सुझाव सङ्ककलनका लागि गठित विशेष समितिले सामुदायिक वनमा बुट्यानमात्रै रहेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

तर, ४ सय ६० हेक्टर क्षेत्रफलमा फैलिएको तेघरी सामुदायिक वनमा साज, साल, खयर, हल्दु, रोहिनी, जामुन, भेलोर लगायतको प्रजातिका रुखहरु रहेको सामुदायिक वन उपभोक्ता समितिले जनाएको छ । वनमा एक हजार उपभोक्ता आश्रित छन् ।

प्रदेश सरकारले हरियो वन मासेर राजधानी बनाउने प्रस्ताव अगाडि ल्याएपनि विकास हुने अपेक्षामा धेरै तेघरीवासीले प्रस्तावको स्वागत गरेका छन् । तर कतिपय स्थानीयले भने वन संरक्षण गरी विकल्प खोज्न आग्रह गरेका छन ।

प्रदेश राजधानी बन्छ भने कुकाठ रहेको वन किन न मास्ने भन्ने पक्षमा केही व्यक्तिहरु देखिएका छन् ।

तेघरी सामुदायिक वनका पूर्वअध्यक्ष कैलाशकुमार जोशीले चुरे क्षेत्रको माथिल्लो भाग वन तस्करीका कारण रित्तिदै गएको दावी गर्दै राजधानी र विकासको लागि सामुदायिक वन मास्दा कुनै फरक नपर्ने बताउँछन् ।

सामुदायिक वन क्षेत्रमा राजधानी बनाउनेबारे डिभिजन वन कार्यालयलाई प्रदेश सरकारको तर्फबाट कुनै औपचारिक जानकारी नदिइएको वन अधिकृत अमरबहादुर बुलनको भनाइ छ ।

उनले चुरे क्षेत्र अति संवेदनशील रहेकाले त्यसलाई जोगाउ फेदको क्षेत्रलाई हरियो बनाउनुपर्ने बताए । प्रस्तावित राजधानीको स्थानलाई लिएर सुदूरपश्चिममा देखिएको विवाद अझै केही दिन लम्बिन सक्ने देखिन्छ ।