Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


विश्वकपमा जान लागेका एन्फा अध्यक्ष र महासचिवलाई रोकियो


8.4k
Shares

काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीलाई विदेश जानबाट रोकेको छ ।

जसका कारण फिफा विश्वकप २०२६ मा सहभागी हुन मेक्सिको जाने तयारीमा रहेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईको यात्रा रोकिएको छ। आर्थिक विषयको छानबिनका लागि राखेपको सिफारिसमा गत वैशाखमा अध्यागमन विभागले एन्फाका सबै पदाधिकारीमाथि विदेश भ्रमणमा प्रतिबन्ध लगाएको थियो ।

सोही प्रतिबन्ध फुकुवाका लागि दबाब दिने उद्देश्यले सोमबार राति नै मेक्सिको प्रस्थान गर्ने तालिका तय गरेका अध्यक्ष नेम्बाङ र महासचिव राई सुरुमा अध्यागमन विभाग पुगेका थिए । तर, अध्यागमनले राखेपको सिफारिस बिना भ्रमण अनुमति दिन नसकिने प्रष्ट पारेपछि उनीहरू राखेप धाएका थिए ।

राखेपका सदस्य सचिव रामचरित्र मेहताले हालको परिस्थितिलाई मध्यनजर गर्दै पदाधिकारीहरूका लागि तत्काल विदेश जाने बाटो खुला गर्न नसकिने स्पष्ट पारेपछि आगामी ११ जुनदेखि सुरु हुने विश्वकपको उद्घाटन सत्रमा सहभागी हुने एन्फा पदाधिकारीहरूको प्रयास तत्कालका लागि असफल भएकाे छ ।