१९ भाद्र २०८२, बिहिबार | Thu Sep 4 2025


सुन तस्करी प्रकरणमा मुछिएका पूर्वडीआइजी निरौलालाई साधारण तारेखमा छाड्ने आदेश


0
Shares

विराटनगर, असोज ११ । उच्च अदालत विराटनगरले साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका पूर्वडीआइजी गोविन्दप्रसाद निरौलालाई पनि साधारण तारेखमा छाड्ने आदेश दिएको छ ।

बिहीबार उच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र जनक पाण्डेको संयुक्त इजलासले निरौलालाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

गृह मन्त्रालयद्वारा गठित छानबिन टोलीले डीआइजी निरौलाले सुन तस्करी गर्ने गिरोहसँग निरन्तर सम्पर्क गरेको खुलासा गरेको थियो ।

सुन तस्करीका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती ‘गोरे’बाट तत्कालीन डीआइजी निरौलाले तीनपटक गरेर १७ लाख रुपैयाँ लिएकोसमेत अनुसन्धानबाट देखिएको थियो ।

आरोपीविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरिएको थियो । जिल्ला अदालत मोरङको आदेशपछि उनी थुनामा रहँदै आएका थिए ।

यसअघि, उच्च अदालतको आदेशले सुन तस्करी प्रकरणमै मुछिएका एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी, एसपी विकासराज खनाललगायत रिहा भइसकेका छन् ।