
इलाम, असार ७ । चार वर्षअघि नै सम्पन्न गर्नुपर्ने कावेली करीडोर १३२ केभी प्रसारण लाइन आयोजनाको काम सकिन अझै केही महिना लाग्ने भएको छ ।
काम ढिलो हुँदा इलाममा उत्पादित विद्युत ३३ केभी लाइनबाट १३२ मा जोड्न समस्या पर्ने भएको छ । अहिले बल्ल नयाँ ट्रान्सफर्मर जडान गरिँदैछ ।
झापा लखनपुरदेखि पाँचथर अमरपुरसम्मको प्रसारण लाइनको पहिलो खण्डको काम सकिएपनि फिदिम थापाटारसम्मको दोस्रो तथा थापाटारदेखि अमरपुरसम्म तेस्रो खण्डको काम सकिन असोज महिनासम्म लाग्ने बताइएको छ ।
आयोजनामा भएको ढिलाइले पाँचथर र ताप्लेजुङमा निर्माण भएका विभिन्न आयोजनामा उत्पादित विद्युत खेर जाने अवस्था बनेको छ । विभिन्न आयोजना बनेपछि इलाममा उत्पादन भएर आयोजनाको गोदकस्थित सवस्टेसन हुदै राष्ट्रिय प्रसारणमा जाने विद्युत बढी भएपछि ६० एमविएको नयाँ ट्रान्सफर्मर जडान गर्नुपर्ने भएको आयोजना प्रमुख दिपेन्द्रराज द्विवेदीले जानकारी दिए ।
यसअघि ३० एमविएको ट्रान्सफर्मर थियो । ३३ केभी लाइनमार्फत २७ देखि २८ मेगावाट विद्युत आइरहेको र बढि भार खेप्न नसक्ने भएकाले थप क्षमताको ट्रान्सफर्मर जडान गर्न लागिएको द्विवेदीले बताए ।
सन् २०११ मा ठेक्का सम्झौता भइ काम शुरु भएको कावेली करिडोर १३२ प्रसारण लाइन आयोजना २०१४ सम्ममा सकाइसक्नुपर्ने भए पनि अझै बनिसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्