Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


इराकमा तीव्र रूपमा फैलिएकाे धुलो-आँधीका कारण जनस्वास्थ्यमा समस्या

११ सय ३३ जना मानिसमा श्वासप्रश्वासकाे समस्या

195
Shares

एजेन्सी। इराकमा तीव्र रुपमा फैलिएकाे धुलो-आँधीका कारण देशैभर जनस्वास्थ्यमा समस्या देखिएको छ ।

इराकको स्वास्थ्य मन्त्रालयले विभिन्न प्रान्तहरूमा १ हजार १ सय ३३ जना मानिसहरूमा श्वासप्रश्वासमा समस्या (दम घुट्ने अवस्था) देखिएको जनाएकाे हो । यी सबै घटना वायुमण्डलमा अत्यधिक धुलो र सूक्ष्म कणहरू मिसिँदा उत्पन्न भएको प्रदूषणका कारण भएको मन्त्रालयकाे ठहर छ ।

मन्त्रालयले यी सबै बिरामीहरूलाई सामान्यदेखि मध्यम अवस्थाको श्वास समस्या भएको र समयमै उपचार दिएकाले कुनै पनि बिरामीकाे मृत्यु नभएको जनाएकाे हाे ।अधिकांश बिरामीहरूलाई प्राथमिक उपचारपछि अस्पताल तथा स्वास्थ्य केन्द्रबाट डिस्चार्ज गरिएको छ । जसले स्थिति नियन्त्रणमा रहेको संकेत गरेकाे मन्त्रालयले जानकारी गराएकाे हाे ।

सबै भन्दा बढी प्रभावित क्षेत्र अल–मुथन्ना प्रान्त भएकाे र जहाँ ५ सय ७६ जना प्रभावित भएका छन् । विशेषज्ञहरूले इराक लामो समयदेखि जलवायु परिवर्तनको उच्च जोखिममा रहेको देशमध्ये एक भएकाे बताएका हुन् । जसलाई संयुक्त राष्ट्रसङ्घले पनि संवेदनशील क्षेत्रको रूपमा वर्गीकृत गरेको छ ।

पछिल्ला वर्षहरूमा धुलो आँधीहरू अझ बढी बारम्बार र अझ तीव्र रूपमा देखिन थालेका छन्। जसले जनस्वास्थ्य मात्र नभएर दैनिक जीवन, यातायात र वातावरणीय अवस्था समेत प्रभावित गररिहेको छ । यस प्रकारका प्राकृतिक धुलो आँधीहरूले देशको स्वास्थ्य प्रणालीमा अचानक दबाब सिर्जना गर्ने, अस्पतालहरूमा बिरामीको सङ्ख्या बढाउने र श्वासप्रश्वास सम्बन्धी दीर्घकालीन जोखिम बढाउने देखिएको मन्त्रालयले जनाएकाे हाे ।