Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


मिडिया र सामाजिक सञ्जालमा आधारहीन-मिथ्या र भ्रामक समाचार फैलाएमा कारबाही गर्ने सरकारको चेतावनी (विज्ञप्तिसहित)


286
Shares

काठमाडाैं । सरकारले अनलाइन मिडिया र सामाजिक सञ्जालमा आधारहीन, मिथ्या र भ्रामक सूचना नफैलाउन आग्रह गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार राति एक विज्ञप्ति जारी गर्दै यस्ताे आग्रह गरेकाे हाे । भ्रामक सूचना फैलाउने काम गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्ने पनि सरकारले चेतावनी दिएको छ । कपोलकल्पित समाचार सम्प्रेषण गर्ने व्यक्ति वा संस्थालाई विद्युतीय कारोबार ऐन र अन्य प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो ।

पछिल्लो समय विभिन्न सञ्चार माध्यम-सामाजिक सञ्जालमा आधिकारिकता पुष्टि नभएका सूचनाहरू प्रवाह भइरहेको भन्दै मन्त्रालयले यस्ता सामग्रीले आम नागरिकमा अनावश्यक भ्रम सिर्जना गरेको, समाजमा नकारात्मक तथा गलत मनोविज्ञान फैलाएको र हचुवाका भरमा सूचना प्रवाह गरी सामाजिक सद्भावमा आँच पुर्‍याएको जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

मन्त्रालयले सबै सञ्चारमाध्यम, सूचना प्रदायक संस्था तथा व्यक्तिलाई आधिकारिक निकायबाट पुष्टि नभएका समाचार तथा सूचना हचुवाका आधारमा प्रकाशन वा प्रसारण नगर्न सचेत गराएको हाे । यदि आधारहीन, मिथ्या र भ्रामक समाचार प्रकाशन वा प्रसारण भएको पाइएमा त्यस्ता सामग्री प्रकाशन गर्ने व्यक्ति वा संस्थालाई पहिचान गरी प्रचलित कानूनअनुसार कडा कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।

त्यसैगरी, मन्त्रालयले भ्रामक सूचना फैलाउन सहयोग पुग्ने कुनै पनि क्रियाकलापमा संलग्न नहुन आम नागरिकलाई पनि आग्रह गरेको हाे । यस्ता भ्रामक सूचना वा समाचारबारे जानकारी भएमा वा गुनासो भएमा मन्त्रालयको आधिकारिक वेबसाइटमा रहेको ‘सामाजिक सञ्जाल गुनासो दर्ता’ पोर्टलमार्फत विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ ।