२० मंसिर २०८१, बिहिबार | Thu Dec 5 2024


यो हो फलफूल र दुधको गाउँ, पूर्वलाहुरे र वैदेशिक रोजगारमा गएका युवाको मेहनत


0
Shares

म्याग्दी, असार ७ । धेरै वर्षसम्म विदेशमा बसेर गाउँमा फर्किएका म्याग्दीको बेनी नगरपालिका–४ वास्कुनाका लाहुरेहरुले आफ्नो गाउँलाई ‘एफएम भिलेज’ अर्थात् फुड एण्ड मिल्क भिलेज (फलफूल र दुधको गाउँ) बनाएका छन् ।

गाउँमा कृषिको राम्रो सम्भावना देखेपछि अवकाश प्राप्त लाहुरे र वैदेशिक रोजगारमा गएका युवा गाउँमै फर्किएर कृषि पेशामा लागेका छन् । 

उनीहरुले पशुपालन र तरकारी तथा फलफूल खेतीगरी दूध, तरकारी र फलफूल उत्पादन गरी गाउँलाई नै फलफूल र दूधको गाउँ अर्थात् ‘एफएम भिलेज’ बनाएका हुन् ।

लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दी जिल्लाको परिचय फेर्न तिनै लाहुरे कस्सिएपछि गाउँका अरु मानिस पनि फलफूल तथा पशुपालनमा लागेको जिल्ला कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ ।

बेनी नगरपालिका अन्तगर्गतको बास्कुना गाउँ ‘एफएम’ गाउँको रुपमा चिनिन थालेको छ । दुई वर्ष साउदी अरबको अल लाइट कम्पनीमा काम गरेर फर्केका तिलक गुरुङले भैंसी पालन, तरकारी खेती र सुन्तलाबाट शुरु गरेको यस्तो अभियान अहिले गाउँभरी विस्तार भएको स्थानीय श्याम खत्रीले बताए ।

गुरुङले केञ्जन बहुद्देश्यीय सहकारी संस्था दर्ता गरेर कृषि र पशुपालन गर्दै आएका छन् ।

वैदेशिक रोजगारबाट फर्केका यहाँका युवाले कृषि र पशुपालनमार्फत वार्षिक १२ लाख रुपैयाँसम्म कमाइ गर्न थालेका छन् । यो विदेशमा ६ वर्षमा हुने कमाइभन्दा बढी भएको र पशुपालन, दुग्ध उत्पादन, तरकारी र फलफूल खेती, पोल्टी फार्म आफूहरुको प्रमुख पेशा भएको गुरुङले बताए ।