२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024


अभावका बेला पेट्रोल लुकाउने ७ पेट्रोलपम्पलाई इन्धन आपूर्ति रोक्न निर्देशन


0
Shares

काठमाडौं, असोज ११ । बजारमा पेट्रोलियम पदार्थ अभाव भएको बेला पेट्रोल लुकाएर कालोबजारी गर्ने सात पेट्रोलपम्प माथि सरकारले कारबाही सुरु गरेको छ ।

काठमाडौं र भक्तपुरका सात पम्पलाई इन्धन आपूर्ति रोक्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशन दिएको हो ।

ट्यांकर चालकले ढुवानीमा अवरोध गरेका कारण बजारमा इन्धन अभाव भएका बेला कृत्रिम अभाव सिर्जना गरेकाले कारबाही सुरु गरेको मन्त्रालयले जनाएको छ । अनुगमनका क्रममा उनीहरुले तेल लुकाएर उपभोक्तालाई नदिएको फेला परेको भन्दै आपूर्ति रोक्न मन्त्रालयका उपसचिव उर्मिला केसीले विभागलाई लेखेको पत्रमा निर्देशन दिइएको छ ।

इन्धन लुकाउनेमा काठमाडौंको बाँसबारीस्थित खड्का आयल सम्लायर्स, गोपीकृष्ण हल अगाडिको राजधानी पेट्रोल पम्प, सामाखुशीको आकाश जोगिनी इन्टरप्राइजेज छन् । वागमती पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष अच्युत खड्काको खड्का आयल सप्लायर्सले पेट्रोल हुँदाहुँदै छैन भनी उपभोक्तालाई नबेची लुकाएर राखेको भेटिएको थियो ।

चाबहिलको एभरेस्ट फ्युल डिस्ट्रिब्युटर, जोरपाटीको बराल आयल स्टोर्स र महाराजगञ्जको त्रिलोचन इन्टरप्राइजेज अनुगमन टोली पुग्दा पम्प बन्द गरेर हिँडेको भेटिएपछि कारबाहीको निर्देशन दिइएको हो । –नागरिक दैनिकबाट