Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


भट्ट र सुलभ जस्ता को-को आए कारबाहीमा ? (भिडियाे रिपोर्ट)


2.2k
Shares

काठमाडाैं । सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा प्रहरीले विवादास्पद व्यवसायी दीपक भट्टलाई पक्राउ गरेपछि उनीमाथिको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कहाँसम्म पुग्छ भन्ने यकिन छैन ।

विभागका अधिकारीहरूका अनुसार भट्टले हिमालयन रि इन्स्योरेन्सलगायतका पब्लिक कम्पनीको करिब ४ अर्ब रुपैयाँ बराबरको सम्पत्ति दुरुपयोग गरेको पाइएको छ ।

अहिले भट्टले हिमालय रि र उसको सहायक कम्पनीबाट लिएको करिब २ अर्ब ९५ करोड रुपैयाँ, जगदम्बा स्टिल्सको ४५ करोड, हिमालय लाइफ इन्स्योरेन्स र उसको सहायक कम्पनी हिमालय लार्ज क्याप र नेपाल माइक्रो लाइफ इन्स्योरेन्सलगायतका कम्पनीको ठुलो रकम व्यक्तिगत खाता हुँदै नेपाल रि इन्स्योरेन्सको शेयर खरिद गरेको पाइएपछि भट्टमाथि अहिले गम्भीर अनुसन्धान भइरहेको हो ।

राजनीतिक शक्तिकै आडमा राज्य प्रणाली नै कब्जा गरेर बसेका भट्टकै साझेदार बन्दा पुराना घरानियाँ व्यावसायिक शंकर ग्रुप पनि अनुसन्धानमा तानिएको छ । शंकर ग्रपका अध्यक्ष शंकरलाल अग्रवाललाई पक्राउ गरे पनि उनलाई रिहा गरेर छोरा सुलभ अग्रवाललाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ । सुलभ अध्यक्ष रहेकै बेला हिमालयन लाइफइन्स्योरेन्स र हिमालयन रि बिच शंकास्पद कारोबार देखिएपछि सुलभ अग्रवाल सम्पत्ति शुद्धीकरणमा तानिएका हुन् । त्यसो त सुलभ यस अघि नै कोरोना माहामारिमा समेत ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परिसकेका थिए ।

अहिले भट्ट र सुलभ पक्राउ परेपछि उनीहरूको अवैध कारोबार सम्बन्धी सम्पूर्ण तथ्य खोल्ने प्रयास विभागले गरिरहेको छ । यिनीहरूमाथिको अनुसन्धानले को को तानिन्छन् भन्ने अहिले नै अनुमान गर्न कठिन छ । त्यसो त र राज्य संयन्त्रलाई प्रभावमा पार्ने सुलभ र भट्टको समूह मात्रै होइनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि केही सञ्जाल भत्काउने प्रयास गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणमा बसेर हवाई क्षेत्रलाई कमजोर मात्रै होइन राजनीतिक आडमै भ्रष्टाचारको अखडा बनाएको आरोप लागेका प्रदीप अधिकारी भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट बनाएर १३ करोड र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरेको भ्रष्टाचार कसुरमा र्पूपक्षका लागि थुनामा छन् । उनै अधिकारीको निर्देशनमा अख्तियार प्रमुखको हत्या गर्नेसम्मको धम्की दिने प्रकाश पाठकलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइएको छ । तर अब अधिकारीमाथि अकुत सम्पत्तिमा समेत अनुसन्धान भइरहेको छ ।

त्यस्तै सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशकको हैसियतमा विकल पौडेलेले राजनीतिक आडमै टेलिकम र सूचना प्रविधि क्षेत्रलाई नियन्त्रणमा राखेका थिए । टेन्डर प्रक्रिया प्रभावित गर्ने, कमिसन बापतको रकम सिंगापुर र बैंक अफ अमेरिकामा समेत राखेका थिए । ६२ करोड अवैध सम्पत्ति आर्जन गरेका पौडेललाई अदालतले नै दोषि ठहर गरिसकेको छ । पौडेल विरुद्ध भ्रष्टाचार सम्बन्धी तिन वटा मुद्दा दायर भएका छन् ।

त्यस्तै सूचना प्रविधि र टेलिकम क्षेत्र कम्जोर बनाउने अर्का पात्र हुन नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल । २५ करोड ७५ लाख बराबरको सम्पत्ति स्रोत नखुलेको देखिएका सुनिल पौडेलले टेलिकम र सूचना प्रविधि क्षेत्रमा गरेको बदमासीमा ६ वटा मुद्दा दायर भएको छ ।

सिंगापुरका बैंकमा रकम राखेको पनि अनुसन्धानबाट खुलिसकेको छ । राष्ट्रिय भुक्तानी प्राणालीमा भ्रष्टाचार गरेको भन्दै ९ वर्ष कैद र २३ करोड २७ लाख असुल्नु पर्ने अदालतले फैसला गरिसकेको छ । विकल र सुनिलमाथिको कारवाहीले दूरसंचार क्षेत्रमा भ्रष्टाचारको जरा गाडेर बसेको एउटा माफिया सञ्जाल कमजोर भएको दाबी गरिएको छ ।

राज्य बाहिर बसेर राजनीतिक शक्तिलाई प्रभावमा पारेर बिचौलिया गर्नेको सम्पत्तिदेखि सरकारी निकायमै बसेर भ्रष्टाचार गर्नेहरूको प्रमाणमा आधारित अनुसन्धान र निष्पक्ष कारबाही हुन सक्छ कि सक्तैन भन्ने सरकारको कामले देखाउने छ ।