काठमाडौं, असोज १० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेको छ ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा कांग्रेसका सांसदहरुले मुलुकभर शृंखलाबद्ध महिला हिंसा र हत्याका घटना बढ्दै गइरहेको र सरकार अनुसन्धान गर्नसमेत असफल भएको भन्दै गृहमन्त्रीको राजीनामा मागेका हुन् ।
सांसदहरु पुष्पा भुसाल र अमरेशकुमार सिंहले कन्चनपुरकी बालिका निर्मला पन्तको हत्याको प्रमाण नस्ट गर्न राज्यशक्तिको दुरुपयोग भइरहेको र अनुसन्धानको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै आपत्ति जनाए ।
कांग्रेसकै सांसद गगनकुमार थापाले बूढीगन्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनी गेजुवालाई दिने सरकारको निर्णयप्रति आपत्ति जनाए ।
यस्तै, सत्तारुढ दल नेकपाका सांसद विरोध खतिवडाले प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका नाममा अकुत सम्पत्ति कमाउने प्रपन्च भइरहेको आरोप लगाउँदै डीपीआर र लगानीकर्ता टुंगो नलागेसम्म रुख काट्नेहरु हत्यारा ठहरिने चेतावनी दिए ।
राजपा नेपालका सांसद लक्ष्मणलाल कर्णले दुई/चारहजार रुपैयाँ काम लगाएर सरकारले विद्यालय कर्मचारीको श्रमशोषण गरिरहेको आरोप लगाए ।
यस्तै, सांसद हृदयेस त्रिपाठीले संसदलाई छलेर गैरसमावेशी निजामती अध्यादेश ल्याउने पड्यन्त्र भइरहेको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्