१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024


निर्माण कम्पनीमा संलग्न सांसदलाई विकास समितिमा राखिएकोमा सांसदहरुकै आपत्ति


0
Shares

काठमाडौं, असोज १० । संसद्को विकास समितिका सदस्यहरुले प्रमुख आयोजनाहरुको काममा निकै ढिलासुस्ती भएको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।

समितिको आज बसेको बैठकमा सांसदहरुले निर्माण कम्पनीले काममा ढिलासुस्ती गर्दा नागरिकलाई अप्ठ्यारो परेको र विकासमा बाधा पुगेको भन्दै त्यसलाई सच्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् । दसैं, तिहार र छठ पर्वका बेला उपत्यका बाहिर जाने यात्रु सडकको अवस्थाका कारण मर्कामा पर्ने भएकाले जतिसक्दो चाँडो सडकको अवस्था सुधार गर्न उनीहरुले माग गरे ।

कतिपय सांसदहरुले विकास समितिमा निर्माण कम्पनीमा संलग्न भएका सांसदहरुलाई राखिएकोमा असन्तुष्टि व्यक्त गरे । सांसद दुर्गा पौडेलले नियमावलीविपरित निर्माण कम्पनीमा संलग्न भएकाहरुलाई समितिमा राखिएकाले यही विषयमा छलफल हुनुपर्ने माग गरिन् ।

नेकपाका सांसद यज्ञराज सुनुवारले पनि निर्माण व्यवसायमा संलग्न सांसदलाई समितिमा राख्नुको कारण स्पष्ट पार्नुपर्ने बताए ।

विकास समितिमा निर्माण क्षेत्रमा संलग्न तीनजना सांसद सदस्य छन् । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार, लामा कन्स्ट्रक्सनका जिपछिरिङ लामा र हिमदुङ एन्ड ठोकर कम्पनीका बहादुरसिंह लामा समिति सदस्य हुन् । उनीहरुले भने आफूहरुका कारण नभई सरकारकै ढिलासुस्तीका कारण काममा ढिलाइ भएको दाबी गरे ।

सांसदहरुबीच आरोप-प्रत्यारोपका कारण समितिको बैठकमा केही असहजता देखिएको छ ।