Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


फेक रेस्क्युको कारबाही सिफारिसमा कोको परे ? (भिडियाे रिपोर्ट)


416
Shares

काठमाडौं ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपालको हिमाली क्षेत्रमा हुने गरेको नक्कली उद्धारको असुन्धान पूरा गरेको छ ।

एक महिनादेखि सुक्ष्म अनुसन्धान गर्दै आएको सीआइबीले नक्कली उद्धारमा संलग्न रहेको ठहर गर्दै उद्धार कम्पनीहरुदेखि, हेलिकप्टर कम्पनीसम्म तथा ट्रेकिङ एजेञ्सीहरुदेखि र अस्पताल सञ्चालकसम्म गरी ३३ जना विरुद्ध मुद्दाका लागि सिफारिस गरेको छ ।

करिब १ महिना लामो अनुसन्धान पुरा गरेर सीआइबीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । हिमाली क्षेत्रबाट हुने हेलिकप्टर उद्धार नक्कली हुने गरेको भन्दै अन्तराष्ट्रिय संचार माध्यमले समेत प्रश्न उठाएपछि पर्यटन मन्त्रालयले गरेको छानविन प्रतिवेदनका आधारमा सिआइबीले अनुसन्धान अगाडी बढाएको थियो ।

करिब १२ सय ४३ पेज लामो प्रतिवेदनमा नक्कली उद्धारको धन्दामा रहेको आरोपमा उद्धार कम्पनी, ट्रेकिङ एजेन्सी , हेलिकप्टर कम्पनीहरु र अस्पताल सञ्चालकहरुलाई कारबाहीका लागि सिफारिस गरेको छ । कारबाहीका लागि सिफारिस गरिएकाहरुमा ३३ जना रहेका छन् । कारबाहीका लागि सिफारिस गरिएकाहरुमा १६ ट्रेकिङ कम्पनी, ५ रेस्क्यु कम्पनी, अस्पतालहरु श्रीद्धी, स्वाकोन र एरा अस्पतालका संचालकहरु रहेका छन् ।

त्यसैगरी यसअघि नै पक्राउ परिसकेका एभरेष्ट एक्सपिरियन्स एण्ड असिस्टेन्सका मुक्ति पाण्डे र सुवास केसी, माण्टेन रेस्क्यु सर्भिसका विवेक पाण्डे र जयराम रिमाल विरुद्ध पनि कारबाहीको सिफारिस गरिएको छ । रिमाल उद्धार कम्पनीका साथै नक्कली उद्धार गरेर ल्याइएका पर्यटकको उपचार गर्ने गरिएको स्वाकोन अस्पतालका समेत संचालक रहेको अनुसन्धानबाट खुलेको छ ।

नेपाल चार्टर सर्भिसका विवेकराज थपलिया र रविन्द्र अधिकारी, श्रीदी अस्पतालका संचालक डाक्टर गिर्वाणराज तिमिल्सिना, स्वाकोन अस्पतालका मिनल्मा पाण्डे र श्याम सुन्दर कंडेलमाथि पनि कारबाहीको सिफारिस गरिएको छ । मुद्दन चलाउने सूचीमा रहेका १६ ट्रेकिङ कम्पनीमा हिमालयन मास्र्टस एडभेन्चर एण्ड ट्राभल कम्पनीका सन्दिप ढुंगाना , रोयल होलिडेजका सन्दिप तिवारीलगायत छन् । यस्तै नक्कली उद्धारमा संलग्न चार हेलिकप्टर कम्पनीका संचालक माथि पनि मुद्दाका लागि सिफारिस गरिएको छ ।

माण्टेन हेलिकप्टरका राजेन्द्र बहादुर सिंह र सन्दिप भण्डारी , मनाङ एयरका प्रकाश बाबु दाहाल , अल्टिच्युड एयरका सुदिप भन्ने चन्द्रप्रसाद प्याकुरेल र पासाङ दावा तामाङको भुमिका समेत खुलाएर मुद्दाका लागि सिफारिस भएको छ । विरामी हुँदै नभएको व्यक्तिको विल उठाएर रकम असुल गर्ने समुहमा संलग्न रहेको आरोपमा एरा अन्तराष्ट्रिय अस्पतालका पाँच जना विरुद्ध पनि मुद्दा चलाउन सिआइबीको सिफारिस छ ।

कारबाहीका लागि सिफारिस भएका ३३ जना मध्ये २३ जना फरार छन । उनीहरु विरुद्ध राष्ट्रहित प्रतिकुल कसुर , आपराधिक लाभ , लिखित सम्बन्धि कसुर र संगठित अपराध सहितको एकिकृत कसुरमा मुद्धा चलाउनु पर्ने सुझाव छ । उनीहरुबाट ९८ करोड विगो भराउन तथा कैद सजायका लागि पनि सिफारिस गरिएको छ । नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय रुपमा वदनाम गराउने फेक रेस्युको संगठित अपराधमा प्रहरीको सिफारिस अनुसार तत्काल प्रक्रिया अघि बढेर कारबाहीको फैसला हुन्छ कि हुँदैन भन्ने चाहीँ हेर्नै बाँकी छ ।