कैलाली, असोज १० । धान काटेर भित्र्याउने बेलामा अचानक परेको झरीले कैलालीका किसानलाई सताएको छ । दिनहुँ भइरहेको वर्षाका कारण काटेको धान खेतमै टुसाउन थालिसकेको छ भने नकाटेको धान पनि ढलेर खेतमै उम्रिन थालेको छ ।
रोपाइँको बेला पर्याप्त वर्षा नभएर समस्या झेलेका किसानलाई बाली स्याहार्ने बेला फेरि अर्को समस्या थपिएको हो । खेतैभरि पहेलपुर धान छ तर केही दिनदेखि आएको झरीले धान खेतमै कुहिन थालेको छ । कतिपयले धान काटेर भित्र्याउन पाएका छैनन् भने हावासहितको पानीले कतिपयको धान ढलेर सोत्तरजस्तै बनेको छ ।
बेमौसममा परेको झरीले किसानहरुको उत्पादनमा क्षति पुग्ने भएपछि किसानहरु चिन्तित् छन् । धान खेतमै बिग्रिन लागेकाले अब चारपाँच दिन राम्रोसँग घाम नलागे यो वर्षको लगानी खेर जाने किसानलाई डर छ ।
रातभरी पानी परेकोले दिउँसो घाम लाग्ने बित्तिकै किसानहरु धान सुकाउने र उठाउने काममा जुटिरहेका छन् । काटेको धान भिजेपछि फसल र पराल दुवै नराम्रो हुने किसान बताउँछन् । भिजेको बिक्री गर्न पनि गाह्रो हुने र त्यसको भात पनि त्यत्ति राम्रो नहुने उनीहरु गुनासो गर्छन् ।









प्रतिक्रिया दिनुहोस्