
न्यूयोर्क, असोज १० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभामालाई सम्बोधन गरिरहँदा सहभागीहरुको हाँसोले सभा गुञ्जिएको छ ।
सम्बोधनका क्रममा ट्रम्पले अमेरिकाको इतिहासमै आफ्नो नेतृत्वले अन्य कसैको तुलनामा धेरै काम गरेको दावी गरेपछि सभामा हाँसो गुञ्जिएको हो । महासभामा सहभागीहरु एकसाथ हाँसेपछि ट्रम्प अलमलमा परेका थिए । तर तत्कालै मुस्काउँदै उनले परिस्थितिलाई सामान्यीकरण गर्दै भने, ‘मैले यस्तो प्रतिक्रियाको अपेक्षा गरेको थिइनँ ।’
उनले आफ्नो भनाइलाई प्रष्ट्याउँदै अगाडि भने, ‘अमेरिका यसअघि यति बलियो, धनी र सुरक्षित कहिल्यै थिएन ।’
ट्रम्पले उत्तर कोरियासँग नरम र चीनसँग कडा व्यवहारको बचाउसमेत गरे । उनले भने, ‘म प्रत्येक देशको आफ्नो परम्परा, विश्वास र मूल्य–मान्यताको अधिकारलाई सम्मान गर्दछु । तपाई कसरी बस्ने र कसरी काम गर्ने, कसको पूजा गर्ने भन्नेबारे अमेरिकाले सिकाउँदैन । म यतिमात्र चाहन्छु कि तपाईहरुले पनि अमेरिकाको सम्प्रभूताको सम्मान गर्नुस् ।’
उनले राष्ट्रवादलाई अमेरिकी नागरिकको अधिकार र स्वतन्त्रताको रक्षा गर्ने एकमात्र विकल्पका रुपमा अघि सारे । उनले विश्व स्वास्थ्य संगठनको समेत आलोचना गरे । विश्व स्वास्थ्य संगठनका तर्फबाट अब अमेरिकाले थप ‘उत्पीडन’ नसहने उनको भनाइ थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्