२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024


सेयरबजारमा लगानी गरेकामा बिमा कम्पनीप्रति अर्थमन्त्रीको असन्तुष्टि


0
Shares

काठमाडौं, असोज ९ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिमा कम्पनीहरुले सेयरबजारमा लगानी गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

सेयरबजारमा लगानी गर्दा जोखिमको पनि ख्याल गर्नुपर्ने भन्दै उनले लगानी विविधिकरण गर्न र जोखिम हस्तान्तरण हुनेगरी अघि बढ्न बिमा कम्पनीहरुलाई आग्रह गरे ।

बिमा समिति र नेपाल बिमक संघले आयोजना गरेको २१औं बिमा सम्मेलनको मंगलबार राजधानीमा उद्घाटन गर्दै उनले बिमामार्फत् विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्दै जानुपर्ने बताए ।

उनले घरजग्गा व्यवसाय, यातायात, उद्योगलगायत केही सीमित क्षेत्रमा रहेको बिमाको दायरालाई बढाउन पनि आग्रह गरे ।

सम्मेलन मानवीय र प्राकृतिक प्रकोपपछि हुने जोखिम न्यूनीकरणका सम्बन्धमा केन्द्रित रहेको समितिले जनाएको छ ।

नेपालको बिमा बजारलाई समयसापेक्ष बनाउन सम्मेलनले सहयोग गर्ने समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले बताए ।

दुई दिनसम्म चल्ने सम्मेलनमा विभिन्न २९ देशका ५०० भन्दा बढी बिमाका नियामक निकायसहित बिमा कम्पनीका प्रतिनिधिको सहभागिता रहेको समितिले जनाएको छ ।