२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024


कोसी, गन्डकी, नारायणी र कर्णालीमा जलमार्ग निर्माणको सम्भावना : मन्त्री पुन


0
Shares

काठमाडौं, असोज ९ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कोसी, गन्डकी, नारायणी र कर्णालीमा जलमार्ग निर्माणको पर्याप्त सम्भावना रहेको बताएका छन् ।

संघीय संसद, प्रतिनिधिसभाअन्तर्गत्को कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको मंगलबारको बैठकमा मन्त्री पुनले समुद्रसँगको सहज सम्पर्क स्थापना गर्न सरकारले यसै आर्थिक वर्षभित्रमा कोसी र नारायणी नदीमा जलमार्गको निर्माणकार्यको थालनी गर्ने बताए ।

उनले आगामी तीन वर्षमा सबै नेपालीको घरघरमा बिजुली बत्ती पुर्‍याइसक्ने बताए । हाल सरकारले भारतबाट प्रतिवर्ष रु १७ अर्बको बिजुली खरीद गर्दै आएको छ ।

असोज ४ गते समितिको सभापति पूर्णकुमारी सुवेदी निर्विरोध निर्वाचित भएपछि समितिको पहिलोपटक बैठक बसेको हो ।

बैठकमा ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र जलस्रोतसचिव सञ्जय शर्माले मन्त्रालयको सांगठनिक संरचना तथा जनशक्ति व्यवस्थापन आव २०७५/७६ को स्वीकृत कार्यक्रम कार्यान्वयनको अवस्था, जनशक्तिको व्यवस्थापनकाबारेमा समितिका सदस्यलाई संक्षिप्त जानकारी गराए ।

बैठकमा समितिका सदस्य दलबहादुर राना, सीतादेवी यादव, राजबहादुर शाही, राधा ज्ञवाली, शान्तिमाया तामाङ, घनश्याम खतिवडा, सत्यनारायण शर्मालगायतले बूढीगन्डकी र पश्चिम सेती जलविद्युत् आयोजना छिट्टै सन्चालनमा ल्याउनुपर्ने, ‘तराईका अधिकांश जिल्लामा जडान गरिएका ‘डिप–बोरिङ’ सन्चालनमा नआएकाले अनुगमन गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराए ।

समितिको अर्को बैठक भदौ १० गते समितिको कार्यकक्ष सिंहदरबारमा बिहान ११ बजे बस्ने भएको छ । रासस