काठमाडाैं । पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन–मलेखु-नागढुङ्गा सडक खण्ड विस्तार तथा स्तरोन्नति गर्ने कार्यले तीव्रता पाएको छ।
नागढुङ्गा–मुग्लिन सडक आयोजनाले हालसम्म साेही खण्डको ११ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको जनाएका हाे। गत वर्ष ८ किलोमिटर कालोपत्र गरिएकोमा यस वर्ष थप तीन किलोमिटर सम्पन्न भएको छ । अहिले कुरिनटार, फिस्लिङ, चरौदी र विशालटारका केही क्षेत्रमा कालोपत्र भइसकेको छ भने धादिङको बाँदरे क्षेत्रमा काम धमाधम भइरहेको हाे। हालसम्म आयोजनाको भौतिक प्रगति ४० प्रतिशत पुगेको जनाइएकाे छ। २०७९ साल पुस १५ गते तीन वर्षभित्र सक्ने गरी ठेक्का लागे पनि तोकिएको समयमा काम नसकिएपछि ६ महिना म्याद थप गरिएको छ। अहिले करिब दुई सय कामदार, कर्मचारी र प्राविधिकहरू कालोपत्रको काममा खटिएका छन्।
फिस्लिङ र जवाङ खोला क्षेत्रमा कालोपत्रका लागि बेस र सबबेस राख्ने काम अन्तिम चरणमा पुगेको छ। निर्माण कार्य तीव्र पारिए पनि सामग्रीको अभावले चुनौती थपेको आयाेजनाले जनाएकाे हाे । धादिङ र इच्छाकामनाका विभिन्न क्षेत्रबाट निर्माण सामग्री ल्याइएको भए पनि लामो समयका लागि अभाव हुन सक्ने देखिएको छ। सामग्री पर्याप्त भएमा काम नरोकिने निर्माण पक्षको दावी छ। यस खण्डमा रहेका ६ वटा पुलमध्ये हुग्दी र चरौदी पुलको फाउन्डेसनपछिको काम भइरहेको छ भने कृष्णभिरमा पहिरो रोकथामको कार्य पनि भइरहेकाे हाे ।
करिब ३९ किलोमिटर लामो यो सडक खण्ड विश्व बैंकको सहयोगमा विस्तार गर्न लागिएको छ। यस अन्तर्गत मलेखु, बेनीघाट र मुग्लिन क्षेत्रमा २ दशमलव २ किलोमिटर सडक ६ लेनको हुने भएकाे हाे। ७ दशमलव २ किलोमिटर सडक ४ लेनको बन्ने भएकाे छ। उकालो–ओरालो पर्ने ठाउँमा ३ लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइने र बाँकी सडक दुई लेनकै रहने आयोजनाले जनाएको छ। शर्मा–जेड आइसिजीले ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा साेही सडकको ठेक्का लिएको हो।










प्रतिक्रिया दिनुहोस्