
बासुदेव बर्मा
कपिलबस्तु, असोज ९ । कपिलवस्तुको मायादेवी गाउँपालिका–१ पकडीस्थित छत्रपाली तिर्थादेवी माध्यमिक विद्यालयमा राष्ट्रिय दुग्ध विकास बोर्डले विद्यार्थीहरुको लागि दुग्धपान कार्यक्रम आयोजना गरेको छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजनामा गरिएको कार्यक्रममा कृषि तथा पशुपंक्षीमन्त्री चक्रपाणि खनाल (बलदेव)ले व्यावसायिक दुग्ध उत्पादन गर्न कृषकसँग आग्रह गरे । उत्पादित दूधले बजार नपाइरहेको गुनासो आइरहेको बेला मन्त्री खनालले अब सरकारले किसानको दूध सहजै खरिद गर्ने बताए ।
छत्रपाली तीर्थादेवी माविका विद्यार्थीलाई सोमबार दुग्धपानको महत्वबारे सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले किसानले दूध उत्पादन र बिक्रीमात्र नभई सेवन पनि गर्नुपर्नेमा जोड दिए । ‘बरु उत्पादन बढी गरौँ, आफू पनि सेवन गरौँ,’ उनले भने ।
दूधमा पाइने तत्वहरूले बालबालिकाको मस्तिष्क विकास गर्ने भएकाले दूध र दूग्धजन्य वस्तु सेवनमा जोड दिन उनले आग्रह गरे ।
कृषिमन्त्री खनालले दूध उत्पादनका लागि पशु नश्ल सुधार र उन्नत घाँस, बिउबीजन उपलब्ध गराउन सरकारले विभिन्न कार्यक्रम ल्याएको बताए ।
मन्त्रालयले प्रदेश र स्थानीय तहमार्फत् गोठ सुधार कार्यक्रम तथा विभिन्न पशु विकास कार्यक्रमहरू ल्याएको भन्दै त्यसको लाभ उठाउन किसानलाई उनले आग्रह गरे ।
दुधको महत्व, फाईदाका विषयमा विद्यालयका विद्यार्थी, शिक्षकहरुलाई दुग्ध विकास बोर्डले अभिमुखिकरण गरि दुग्धपान कार्यक्रम आयोजना गरेको हो । दुध तथा दुग्धजन्य पदार्थको महत्वको बारेमा सचेतनामुलक कार्यक्रम संचालन गर्नका लागि कार्यक्रम आयोजना गरिएको बोर्डका निमित्त निर्देशक बाबुकाजी पन्तले बताए ।
प्रतिक्रिया दिनुहोस्