Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


उम्मेदवारलाई मतदाता फकाउने चटाराे (भिडियाे रिपाेर्ट)


117
Shares

काठमाडाैं । यतिबेला विभिन्न राजनीतिक दलका उम्मेदवार निर्वाचन लक्षित क्रियाकलापमा व्यस्त भएका छन् ।

उम्मेदवारहरु आफ्नो निर्वाचन क्षेत्रमा गएर जनतासँग भेटघाटदेखि आफ्ना एजेण्डा प्रस्तुत गरिरहेका हुन् । यसका साथै, उनीहरुले विभिन्न कार्यक्रममा पनि सहभागिता जनाइरहेका छन् । विभिन्न राजनीतिक क्रियाकलापमा संलग्न उम्मेदवार आफ्ना मुद्दामा मतदाता केन्द्रित गर्न भन्दा अर्को उम्मेदवारलाई होच्याएर आफू स्थापित हुने दाउमा देखिन्छन् ।

प्रतिनिधिसभा निर्वाचनका कारण यतिबेला देश निर्वाचनमय बनेको छहाे। सबै राजनीतिक दलका उम्मेदवार जनता आफ्नो पक्षमा नतिजा पार्न प्रयासरत देखिन्छन्। मतदाताको घरदैलोमा निस्किएका उम्मेदवारहरुले मतदातासामू जे बिक्छ त्यहीं बोलिरहेका छन् । सम्भव होस वा असम्भव उनीहरु नागरिकलाई आफ्नो पक्षमा तान्नका लागि जे पनि बोलेका छन् । आफ्ना एजेण्डा र नागरिकका समस्या समाधानको ठोस योजना भन्दा पनि उम्मेदवार बिकाउ कुरामा नै लिप्त देखिन्छन् ।

विगतका निर्वाचनमा यस्तै झुटा आश्वासन बाँडेर पटक-पटक निर्वाचन जित्नेहरु पनि यतिबेला जनतामाझ पुगेका छन् । यस्ता उम्मेदवारहरुले नयाँलाई जुनसुकै हालतमा पनि पराजित गर्ने नीति अघि बढाएका छन् । पुराना–नयाँ दलका प्रायः सबै उम्मेदवारहरुले यो शैली अँगालेको पाइन्छ । अर्कोतर्फ, केही उम्मेदवारहरु विपक्षी उम्मेदवारका विरुद्धमा खनिन थालेका छन् । उनीहरुले आफू निर्वाचित भएपछि गर्ने कामभन्दा अर्कोलाई गलाउन बढी तल्लीन भएको देखिन्छ । जनतामा जाँदा उनीहरुको समस्या समाधानको स्पष्ट खाका भन्दा पनि आवेग र प्रतिशोध बढी देखिन थालेको छ ।

यो सामान्य निर्वाचन होइन । जेनजी आन्दोलनपछि प्रतिनिधिसभा विघटन मार्फत हुन लागेको निर्वाचनमा जनता परिवर्तनको पक्षमा देखिएका छन । मतदाता स्पष्ट भिजन र आफ्ना समस्या समाधान गर्नसक्ने योग्य उम्मेदवारको खोजीमा छन । तर, उम्मेदवार भने पुरानै ढर्रामा मतदाता सामू गइरहेको पाइन्छ । आम मतदाताको अपेक्षा र उम्मेदवारको चुनावी शैलीमा तालमेल देखिएको छैन ।

नागरिकले देशमा व्याप्त अनियमितता र भ्रष्टाचार विरुद्ध आवाज उठाइरहेका छन् । त्यसका लागि राजनीतिक दल इमानदार हुनुपर्ने नागरिक माग छ । तर, राजनीतिक दल भने पुरानो ढर्राबाट माथि उठन सकेको देखिदैन । जेनजी आन्दोलनको माग नै सुशासन थियो । सोही माग स्थापित गर्न नसक्ने भन्दै २ वर्ष अवधि बाँकी रहेको प्रतिनिधिसभा भंग गरियो । नयाँ प्रतिनिधिमार्फत देशमा सुशासन स्थापित हुने आम अपेक्षा पनि थियो । तर, निर्वाचनमा होमिएका उम्मेदवार भने सुशासन स्थापना गर्न आफ्ना एजेण्डामा अस्पष्ट छन । मतदातामाझ पुरानै लोक रिझाईको शैली नयाँ उम्मेदवारको पनि देखिन्छ ।

जसले गर्दा आगामी निर्वाचनमार्फत पनि नागरिकको असन्तुष्टी सम्बोधन हुने सम्भावना क्षीण देखिएको छ ।

विस्तृतमा भिडियाे रिपाेर्ट हेर्नुहाेस् :