वासुदेव बर्मा
कपिलवस्तु, असोज ९ । कपिलवस्तुको शुद्धोधन गाउँपालिकास्थित भूताहा सिँचाइ योजनाले पूर्णता पाएको छ ।
वर्षौँदेखि सिँचाइ असुविधा झेल्दै आएका कृषकमा आयोजना सम्पन्न भएसँगै केही खुसीयाली छाएको छ, जसबाट ७ सय १५ हेक्टर जमिनमा सिँचाइ गर्न सकिने बताइएको छ ।
२०५० सालमा सुरु भएको भूताहा सिँचाइ आयोजनाले बल्ल पूर्णता पाएको हो । १३ करोड ५ लाख ६६ हजारको लागतमा निर्मित आयोजनाको बाँध मेहनिया गाउँ नजिकै बाँधिएको छ ।
दुई चरणमा सम्पन्न आयोजनाको काम पछिल्लो पटक २०७१ वैशाख २२ गते लुम्बिनी अर्घाखाँची आशिष जेभीले ३ वर्षभित्र सम्पन्न गर्ने भन्दै गरेको थियो । तर तोकिएको समयभन्दा १ वर्ष बढी समय खर्च भयो । यस योजनाबाट ७ सय १५ हेक्टर जमिन सिँचाइ हुनेछ ।
आयोजनाबाट किसानहरुलाई ठूलो राहत पुग्ने ५ नम्बर प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बताए ।
कृषियोग्य जमिन प्रशस्तै भए पनि कपिलवस्तुमा आधाभन्दा बढी जमिनमा सिँचाइको असुविधा छ । किसानहरु भरपर्दो सिँचाइ सुविधा नहुँदा कृषिबाट अपेक्षित प्रतिफलपाउन सकेका छैनन् । बहुप्रतिक्षित यस आयोजना निर्माण भएपछि कृषकमा पनि कम्ता उत्साह छैन । बिउ राख्ने बेलादेखि धान पसाउने बेलासम्म पानीकै पिरोलो हुने स्थानीय कृषकहरुलाई आयोजना निर्माणपछि निकै सहज भएको छ ।
कृषिलार्ई व्यावसायिक र आधुनिक बनाउने कुराको सुगा रटाइ भइरहने तर त्यसका पूर्वाधार विकास नहुँदा यो विषय प्रभावकारी हुन सकेको छैन । कपिलवस्तुको ८३ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये हालसम्म सिँञ्चित जमिनको क्षेत्रफल ३५ हजार हेक्टर रहेको डिभिजन सिँचाइ कार्यालयको तथ्यांक छ ।
सानै भएपनि यस आयोजनाबाट दुई गाउँपालिकाका ६ हजार भन्दा बढी कृषक लाभान्वित हुनेछन् । यसबाट कृषि उत्पादनमा वृद्धि गर्न टेवा पुग्नेछ ।









प्रतिक्रिया दिनुहोस्