Logo १४ माघ २०८२, बुधबार | Wed Jan 28 2026


हिमाली क्षेत्रबाट नक्कली उद्धार (भिडियाे रिपोर्ट)


0
Shares

काठमडौं ।

पर्वतारोहण तथा पद यात्रा नै नेपाल आउने विदेशी पर्यटकहरूको मुख्य आकर्षण हो । उच्च हिमाली क्षेत्रमा कतिपय विदेशी पर्यटकहरुलाई लेक लाग्ने अथवा अन्य कुनै स्वास्थ्य कठिनाइ पनि हुने गर्दछ ।

त्यही कठिनाइको फाइदा उठाउँदै उद्धारका नाममा केही नेपाली ब्यावसायीहरुले भने संगठित रुपमा अवैध असुली गर्दै आएको खुलासा भएको छ । हिमाली क्षेत्रबाट उद्धारका नाममा पर्यटन व्यवसायी, हेलिकप्टर कम्पनी र अस्पतालहरुको मिलेमतोमा करोडौँ रकम असुली हुने गरेको तथ्य सार्वजनिक भएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले साढे दुई महिनादेखि गरिरहेको अनुसन्धानले उद्धारका नाममा गम्भीर अपराध भइरहेको देखाएको हो । नेपालका हिमाली क्षेत्रबाट विदेशी पर्यटकहरूको हेलिकप्टर उद्धारका नाममा चर्को असुली भइरहेको विषयमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पटक पटक समाचार आइरहेको थियो । आयरल्यान्डको ट्राभल एसिस्टले सन २०१९ मै एउटै हेलिकप्टरबाट उद्धारका नाममा पटक पटक उडान गरेको देखाएर बिमा रकम दाबी गरेको तथ्य नेपाल सरकारलाई दिए पनि त्यसमा अनुसन्धान हुन सकिरहेको थिएन ।

यस्तै फ्रेन्च समाचार एजेन्सी ए.एफ.पी र फ्रान्स २४ टेलिभिजनले पनि उद्धारका नाममा भइरहेको असुली धन्दाबारे समाचार बाहिर ल्याएका थिए । अमेरिकी टेलिभिजन सिएनन र बेलायती पत्रिका द गार्डियनले पनि हेलिकप्टर उद्धारमाथि गम्भीर प्रश्न उठाउँदै समाचार प्रकाश गरेका थिए । हिमाली क्षेत्रबाट हुने उद्धार कार्य अन्तर्राष्ट्रिय जगतमा बदनाम भई सक्दा पनि नेपालमा भने उक्त गोरख धन्दामाथि अनुसन्धान हुन सकिरहेको थिएन ।

अहिले भने सीआइबीले तिन वटा कम्पनिका ६ जना सञ्चालक पक्राउ गरेपछि उद्धारका नाममा भइरहेको असुली धन्दा बाहिर आएको छ । सीआइबीले पक्राउ गरेका मध्य एक मुख्य आरोपी हुन माउन्टेन रेस्क्यु सर्भिसका संचलक जयराम रिमाल । जसको कम्पनीले सन २०२२ देखि २५ सम्म १२ सय ४८ जना विदेशी पर्यटकको उद्धार गरेकोमा १ सय ७१ जनाको उद्धार नक्कली देखिएको छ । जसबाट माउन्टेन रेस्क्युले १ अर्ब रुपैयाँ भन्दा बढीको बिमा दाबी गरेको छ । उक्त नक्कली उद्धारमा माउन्टेन रेस्क्युले एयर डाइनेष्टिको हेलिकप्टर प्रयोग गरेको खुलेको छ ।

अहिले रिमाललाई रेस्क्यु कम्पनिको सञ्चालक देखाएर हेलिकप्टर सञ्चालक उम्किन खोजे पनि ती दुवै कम्पनीका सञ्चालक एउटै समूह भएको पनि खुलेको छ । यस्तै नेपाल चार्टर सर्भिस नक्कली उद्धार गर्ने अर्को कम्पनी हो । जसका सञ्चालक रवीन्द्र अधिकारी र व्यवस्थापक विवेकराज थपलिया पक्राउ परिसकेका छन् । नेपाल चार्टर सर्भिरले तिन वर्षमा ४ सय ७१ वटा उद्धार गरेकोमा ७५ वटा शङ्कास्पद देखिएको छ । जसबाट उनीहरूले ८२ लाख लाख ३४ हजार अमेरिकी डलर बिमा दाबी गरेका छन् ।

यस्तै मुक्ति पाण्डे सञ्चालक रहेको एभरेस्ट एक्सपिरियन्सले तिन वर्षमा ६०१ वटा उद्धार गरेकोमा ७१ वटा नक्कली देखिएको छ । त्यस बापत कम्पनीले ११ लाख ५३ हजार अमेरिकी बिमा दाबी गरेको छ । कतिसम्म भने सगरमाथा क्षेत्रबाट पाँच जना पर्यटकको अल्टिच्युट एयरको एउटै हेलिकप्टरमा एकै खेपमा उद्धार भएको विमानस्थलको रेकर्ड हुँदाहुँदै उद्धार कम्पनी नेपाल चार्टर सर्भिसले पाँच जनाको फरक फरक उद्धार गरेको भन्दै एक जनासँग ७८ सय डलर, एक जनासँग ४५ सय डलर र दुई जनासँग ९४ सय डलर गरेर ३१ हजार डलर बिमा दाबी गरेको फेला परेको छ ।

यस्तै मुक्ति पाण्डे सञ्चालक रहेको एभरेस्ट एक्सपिरिएन्सले कैलाश हेलिकप्टरबाट ३ जनाको एकै पटकमा उद्धार गरेकोमा फरक फरक बिल बनाएर १४ लाख भन्दा बढी बिमा दाबी गरेको छ । यि सबै काममा हेलिकप्टर कम्पनी र अस्पतालका सञ्चालकहरू पनि संलग्न रहेको भेटिएको छ । नक्कली उद्धार गर्नेमा सबै भन्दा धेरै एयर डाइनेष्टि १ सय ७१, अल्टिच्युट एयर ७९, मनाङ एयर २८, कैलाश एयर १३ र बेसक्याम्प एयरले १३ वटा उद्धारका धन्दा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अन्य हेलिकप्टर कम्पनी र त्यसका सञ्चालकहरू पनि अनुसन्धानको दायरामा छन् । यस्तै सामान्य बिरामीलाई समेत हेलिकप्टर उद्धारको डर देखाएर पैसा असुली गर्नेमा ट्रेकिङ कम्पनीहरू पनि संलग्न रहेको विषयमा सीआइबीले अनुसन्धान गरिरहेको छ । सीआइबीको अनुसन्धानले नक्कली उद्धारको धन्दा सङ्गठित रूपमै हुँदै आएको आशङ्का गरेको छ ।

पक्राउ परेकाहरूमाथि सम्पत्ति शुद्धीकरण, सङ्गठित अपराध र राज्य विरुद्धको कसुर लगाउने तयारी भइरहेको छ । नक्कली उद्धारको धन्दाले विश्वभर धुमिल बनाएको नेपालको छविमा सुधार गर्न पनि अपराधीहरूलाई कारबाहीको दायरामा ल्याउनु जरुरी छ ।