काठमाडौं ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले राजीनामा दिएपछि महानगर भित्र फोहोर थुप्रिएको भन्ने सामाजिक सञ्जालको प्रचार सत्य नभएको देखिएको छ ।
बालेन बाहिरिएसंगै फोहोर उठ्न छाडेको भनेर गलत र भ्रामक सूचना फैलाइएको काठमाडौं महानगरपालिकाले स्पष्ट पारेको छ । काठमाडौं महानगरपालिकाको प्रमुखबाट बालेन शाहले राजीनामा दिएपछि विभिन्न कोणबाट महानगरका गतिविधिहरु नियाल्न थालिएको छ ।
खासगरी बालेनले सुरु गरेका विभिन्न गतिविधिहरु पहिले जसरी अघि बढ्लान कि नबढ्लान भन्ने भन्ने चासो सर्वसाधारणमा रहेको छ । कुनै दल र समूहको दबाब र प्रभावमा नपरेका बालेनले काठमाडौं महानगरपालिकाको नेतृत्वबाट बिदा लिँदा महानगर पहिले झैं भताभुङ्ग अवस्थामा पुग्ने त होइन भन्ने चिन्ता पनि छ ।
तर अहिलेसम्म बालेन बाहिरिए पनि महानगरपालिकाको काम कारबाहीमा कुनै फरक नपरको महानगरपालिकाले जनाएको छ । बालेनले संसदीय चुनावमा होमिन राजीनामा दिएसंगै महानगरपालिकाको जिम्मेवारी उपप्रमुख सुनीता डंगोलको काँधमा आएको छ । उपप्रमुख डंगोलको कमाण्डमा रहेको महानगरपालिकाभित्र सरसफाइलगायतका काममा कुनै कमी आउन नदिइएको महानगरपालिकाले स्पष्ट पारेको छ ।
यसैगरी बालेन विदा भएपछि सिंहदरबार अगाडिलगायतका सार्वजनिक स्थानका राखिएका कुर्सीहरु हटाइएको भनेर पनि सामाजिक सञ्जालमा आलोचना भईरहेको छ । तर सार्वजनिक स्थानमा राखिएका कुर्सीहरू अहिले पनि यथावत् रहेको र ती कुर्सीहरु हटाउने निर्णय नगरिएको पनि महानगरपालिकाले स्पष्ट पारेको छ । कतिपय स्थानमा व्यवस्थापन तथा मर्मतका लागि अस्थायी रूपमा सारिएको विषयलाई अतिरञ्जित ढंगले प्रस्तुत गरिएको महानगरको ठहर छ । महानगरपालिकाले हाल आफूहरू पहिलेभन्दा अझ व्यवस्थित र प्रभावकारी रूपमा काम गर्न अघि बढिरहेको दाबी पनि गरेको छ । फोहोर व्यवस्थापन, सार्वजनिक सेवा, अनुगमन तथा शहरी व्यवस्थापनका क्षेत्रमा सुधारका प्रयास जारी रहेको र राजनीतिक परिवर्तनका कारण सेवा प्रवाहमा असर नपर्ने पनि महानगरपालिकाको दाबी छ ।





प्रतिक्रिया दिनुहोस्