काठमाडौं ।
मुलुक यतिबेला सम्पूर्ण रुपमा निर्वाचनमा होमिएको छ ।
उम्मेदवारहरुको मनोनयन दर्तासँगै निर्वाचन हुने नहुने दुविधा हटेर मुलुक निर्वाचनमय भएको हो । यस पटकको निर्वाचनमा सबैजसो राजनीतिक दलहरु चुनावी गठबन्धन बिना निर्वाचनमा होमिएका छन् ।
अघिल्ला निर्वाचनहरुमा गठबन्धन बनाउने गरेका दलहरु यस पटक एक्लाएक्लै चुनावमा जाँदा मतदातालाई रोज्ने मौका मिलेको छ भने दलहरुको शक्ति परीक्षण पनि हुने भएको छ । एक रिपोर्ट ।
पछिल्ला केही चुनाव यता नेपालमा चुनावी गठबन्धन पर्यायजस्तै बन्दै आइरहेको थियो । राजनीतिक दलका नेताहरुले विचार र सिद्धान्त नै दाउमा राखेर चुनावी गठबन्धन गर्दै आइरहेका थिए । खासगरी आफू निकटको दल कमजोर रहेको क्षेत्रमा बलिया दलसँग सहकार्य गर्ने परम्परा चल्दै आएको थियो ।
तर यस पटकको निर्वाचनमा भने सबैजसो दलहरु एक्लाएक्लै चुनावी मैदानमा होमिएका छन् । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि दलहरु एक्लै मैदानमा होमिदा दलहरुको असली परीक्षण हुने भएको छ । गठबन्धनको बलमा निर्वाचन जित्ने दलहरुका लागि यो निर्वाचनले राम्रै पाठ सिकाउने पनि पक्का छ ।
गठबन्धनको संस्कृति तोडिएकाले यो निर्वाचनलाई निकै महत्वका साथ पनि हेरिएको छ । प्रमुख प्रतिष्पर्धी दलहरुले एक्लाएक्लै उम्मेदवार खडा गरेर मनोनयन गरेकाले अब दलगत गठबन्धन यस पटक नहुने निश्चित भएको छ ।
तर, कांग्रेसको विशेष महाधिवेशनबाट आएको नेतृत्वले त्यसलाई ठाडै अस्विकार गरिदियो । जसका कारण एमाले पनि एक्लै चुनावमा जान बाध्य भयो । कांग्रेस र कम्युनिष्टहरुबीच धेरै वर्षपछि एकल प्रतिस्पर्धा हुने अवस्था पनि आएको छ । तर चुनाव अघि नै केही दलहरुबीच पार्टी एकताको भने लहर नै चल्यो । नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुले अन्य दलहरुलाई समेट्दै निर्वाचनमा गएका छन् ।
उनीहरु जनतामाझ गएर आफ्ना एजेण्डा र सपनाहरु बाँड्न थालिसकेका छन् । यो निर्वाचन आवधिक निर्वाचन नभएकाले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय चासोसमेत बढ्न थालेको छ । दलहरुले जेनजी युवाहरुको मर्म र भावनाअनुसार नै केही ठाउँमा उम्मेदवार छनोट गरेका छन् । सँगसँगै उम्मेदवार चयनमा विगतकै परिपाटी पनि कायम छ । यस्तो अवस्थामा मतदाताहरुको रोजाइमा कस्ता उम्मेदवार पर्छन भन्ने विषय चासोका साथ हेरिएको छ ।





प्रतिक्रिया दिनुहोस्