काठमाडौं, असोज ८ । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्ववरिष्ठ उपाध्यक्ष एवं दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष मणि कुँवरले गत वैशाख २२ गते सम्पन्न एन्फाको निर्वाचनमा विधानविपरीत आपराधिक गतिविधि भएको आरोप लगाएका छन् ।
सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कुँवरले फुटबलको सर्वोच्च निकाय (फिफा)को नियमविपरीत निर्वाचन भएको भन्दै फिफा र एएफसीलाई अनुसन्धान गर्न प्रमाणसहित पत्र पठाएको जानकारी दिए ।
निर्वाचनका समयमा निर्वाचन कमिटीलाई मार्ने धम्कीसँगै आर्थिक प्रलोभनमा पारेको, मतदातालाई प्रत्यक्षरुपले पैसा बाँडेको, मतदातालाई विदेश लगेर ठूलो धनराशी खर्च गरेकोलगायतका आरोप कुँवरले लगाएका छन् ।
कुँवरले न्यायालयलाईसमेत प्रभावित पार्ने काम भएको दाबी गरे ।
यी गतिविधिमा अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र नवीन पाण्डेलगायतको संलग्नता रहेको कुँवरको आरोप छ ।
यसबारे आफूले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप)मासमेत जानकारी गराइसकेको कुँवरले बताए ।
निर्वाचनमा अध्यक्षका लागि उम्मेदवारी दिएका कुँवरले अन्तिम समयमा नीतिविपरीत चुनाव हुन लागेको भन्दै मैदानबाट हटेका थिए । कुँवरको प्यानलले नै चुनावमा हार व्यहोरेको थियो ।








प्रतिक्रिया दिनुहोस्