Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


रास्वपाका सभापति लामिछानेकाे मुद्दा फिर्ता लिने निर्णयविरूद्ध सर्वाेच्चमा दाेस्राे रिट पेश

निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग

5.6k
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जोडिएको सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराध सम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दोस्रो रिट निवेदन पेश भएको छ ।

सहकारी ठगी प्रकरणसँग जोडिएको गम्भीर मुद्दाहरूमा अभियोग संशोधन गर्ने वा मुद्दा फिर्ता लिने गरी महान्यायाधिवक्ताको कार्यालयबाट भएको निर्णय गैरकानूनी र बदनियतपूर्ण रहेको दावी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्चमा रिट निवेदन पेश गर्नुभएकाे हाे । यसअघि युवराज पौडेल (सफल)ले लामिछानेको मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध रिट दिनुभएकाे छ।

निवेदकले महान्यायाधिवक्ताको सोही निर्णयले न्याय प्रक्रियामा गम्भीर अवरोध सिर्जना गर्ने र अपराधीलाई उन्मुक्ति दिने खेल भएको उल्लेख गर्दै उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गरेका छन् ।