काठमाडाैं । नेपाली टेलिभिजनको इतिहासमा समाचार, सूचना र मनोरञ्जनको त्रिवेणी बन्दै आएको ईमेज च्यानल बिहीबारदेखि ३०औं वर्षमा प्रवेश गरेको छ ।
नेपाल टेलिभिजनको पर्दाबाट शुरु भएको इमेजको यात्रा अहिले ३ सय ६५ दिन नै नेपालसहित विश्वका ७० बढी राष्ट्रमा एचडी प्रविधि मार्फत प्रसारणको आयतन फैलाइरहेको हाे । विश्वसनीय समाचार, सन्तुलित विचार र स्वस्थ मनोरञ्जनलाई आफ्नो मूल मर्म मान्दै आएको इमेज च्यानल आगामी दिनमा पनि यहाँहरुको सेवामा निरन्तर रहने छ ।
२०५३ साल माघ १ गते नेपाल टेलिभिजनको पर्दाबाट यात्रा शुरु गरेको यो च्यानल मानवीय रुचीका विविध उत्पादन मार्फत दर्शकमाझ निरन्तर हाजिर रहँदै आएको हाे । लोकतन्त्रको बिहानीसँगै २०६३ साल माघ ११ देखि इमेज च्यानलले स्याटेलाइटमार्फत आफ्नो प्रसारणलाई विश्वभरी जोड्यो । विश्वसनीय समाचार, सन्तुलित विचार र स्वस्थ मनोरञ्जन हाम्रो मूल नारा हो । त्यसैले त हामी यहाँहरुको चाहना अनुरुप नयाँ नयाँ कार्यक्रम लिएर फेरि दर्शकमाझ आउने प्रण गर्दैछौं ।
ईमेज च्यानलले टेलिभिजनको दुनियामा सांगीतिक जगतकै महाउत्सवको रुपमा इमेज अवार्डको आयोजना गर्दै संगीतको क्षेत्रमा लागेका श्रष्टालाई सम्मान गर्दै नेपाली सांगितिक क्षेत्रमा सानो योगदान गर्ने प्रयत्न पनि गर्दै आएको छ । गीतसंगीतको क्षेत्रमा ईमेज अवार्ड सांगीतिक पर्व बन्न पनि सफल भएको थियो । त्यसो त २०४६ सालमा प्रजातन्त्रको पुनर्स्थापनासँगै २०४७ सालमा बनेको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर्यो भने सोही संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको उपहार स्वरुप ईमेज जन्मियो । यसैको जमिनबाट शुरु यात्रा तपाई दर्शक र स्रोताहरुको सद्भावकै कारण इमेज च्यानलले २०५५ साल पुस २३ गतेदेखि केएटीएचको नामबाट एफएम प्रसारण शुरु गर्यो ।
अहिले ईमेज एफएम ९७.९ को रुपमा यो एफएम २४ सै घण्टा समाचार, विचार र मनोरञ्जन लिएर तपाईहरुबीच आइरहेको छ । साथै एफएम रेडियो र अनलाइन क्षेत्रमा पनि सेवा विस्तार गरी निरन्तरता दिइरहेको छ । हाम्रो यात्रा त्यतिमा मात्रै रोकिएन । ईमेज परिवारको अर्को सदस्यको रुपमा २०६५ भदौ २९ गतेदेखि प्रसारणमा आएको ईमेज न्युज एफएम १०३.६ ले सूचना मनोरञ्जन र समाचार हरपल प्रसारण गरिरहेको छ । त्यसैगरी नयाँ मिडियाको रुपमा शुरु गरेको इमेज खबर डटकमप्रति पनि यहाँहरुले देखाउनुभएको सद्भावले इमेज ग्रुप अफ कम्पनीज् उत्साहित बनेको हाे । प्रसारणको २९ वर्ष पूरा भएको यस सुखद् अवसरमा इमेज च्यानल पत्रकारिताको धर्म र आफ्नो विशिष्ट पहिचान अझ बलियो बनाउन प्रतिवद्ध छ ।
एचडी प्रसारणसँगै प्रसारण संरचना, प्रविधि र प्रस्तुतिमा पनि परिवर्तन हुँदैछ । हामी अब दृश्यमा अझ सफा र प्रष्ट हुनेछौं भने विषयवस्तुको उत्पादन, प्रसारणलाई थप विविधतायुक्त र गुणस्तरीय बनाउन प्रतिवद्ध छौं । यस सुखद् अवसरमा ईमेज च्यानल सम्पूर्ण दर्शक, स्रोता, पाठक, विज्ञापनदाता तथा शुभेच्छुक सवै महानुभाव र सहकर्मीहरुप्रति हार्दिक धन्यवाद र आभार व्यक्त गर्दछ । साथै भावी दिनमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गर्दछ ।





प्रतिक्रिया दिनुहोस्