Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


पर्सामा स्रोत नखुलेको ठुलो मात्रामा हुण्डी रकमसहित तीन जना पक्राउ


728
Shares

वीरगञ्ज । पर्सा जिल्लामा स्रोत नखुलेको ठूलो परिमाणको हुण्डी रकमसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्जका विभिन्न स्थानमा छापा मार्दै हुण्डी कारोबारमा संलग्न व्यक्तिहरूलाई नगद रकम सहित नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट जम्मा ६ लाख ७१ हजार ९ सय ५० रुपैयाँ बराबरको स्रोत नखुaलेको नगद रकम बरामद गरिएको छ । पक्राउ परेकाविरुद्ध हुण्डीसम्बन्धी कारोबार गर्न नहुने’ कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ । पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य, बेतिया जिल्ला, बैरिया थाना, वडा नम्बर ०८ मथौली स्थायी घर भई हाल पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका वडा नम्बर ०२ छप्कैयामा बसोबास गर्दै आएका ५० वर्षीय अनवर मिया रहेका छन्। उनी सफी अहमदका छोरा हुन् । त्यस्तै, सोही स्थानमा बसोबास गर्दै आएका अनवर मियाकै २२ वर्षीय छोरा महमद कैफ अहमद पनि पक्राउ परेका छन् ।

प्रहरीले उनीहरूलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १० स्थित मकालु चोकबाट पक्राउ गरेको हो। बरामद विवरणअनुसार भारतीय नम्बर प्लेट २२ ज् ६३३८ को मोटरसाइकलमा सवार अनवर मियाले लगाएको पाइन्टको खल्तीबाट १ हजार दरका ५२ थान, ५ सय दरका १५७ थान र ५० दरका ९ थान नोट गरी जम्मा १ लाख ३० हजार ९ सय ५० रुपैयाँ बरामद गरिएको छ ।

त्यसैगरी, मोटरसाइकलको पछाडि सवार महमद कैफ अहमदले लगाएको पाइन्टको खल्तीबाट १ हजार दरका २०० थान र ५ सय दरका २०० थान नोट गरी जम्मा ३ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । अन्य पक्राउ परेकासँग बरामद रकमसमेत जोड्दा कुल रकम ६ लाख ७१ हजार ९ सय ५० रुपैयाँ पुगेको छ ।

प्रहरीले सीमा क्षेत्र आसपास अवैध हुण्डी कारोबार, कालोबजारी तथा आर्थिक अपराध नियन्त्रणलाई प्राथमिकतामा राख्दै निगरानी बढाइएको जनाएको छ। स्रोत नखुलेको रकमको प्रयोगले अर्थतन्त्रमा नकारात्मक असर पार्ने भएकाले यस्ता गतिविधिविरुद्ध कडा कारबाही गरिने प्रहरीको भनाइ छ।

हाल पक्राउ परेका सबै व्यक्तिमाथि विस्तृत अनुसन्धान जारी रहेको र आवश्यक प्रमाण संकलनपछि थप कानुनी प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।