काठमाडाैं। सन् २०२५, विश्व इतिहासमा धेरै आरोह-अवरोह छिचोल्दै समाप्त भएको छ।
यो वर्ष पनि विश्व राजनीतिको चर्चाको केन्द्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बन्नुभएकाे हाे । उहाँकै नीतिले विश्वमा नयाँ व्यपार युद्धको जन्म भयो । युरोप र अमेरिकाको सम्बन्ध अहिलेसम्मको चिसो बन्दा युक्रेनमा रुसको आक्रमण वर्षभरी नै जारी रह्यो । मध्यपूर्वको तनाव भने यो वर्ष केही मत्थर बन्यो ।
दोस्रो कार्यकालको लागि अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भईसकेको, तर कार्यभार समाल्न बाँकी रहेको अवस्थामा वर्ष २०२५ प्रारम्भ भएको थियो । आफूलाई पराजित गर्दै राष्ट्रपति बनेका जो बाइडेनको डेमोक्रेटिक शासन ढाल्दै ट्रम्पले ह्वाइट हाउसको बागडोर समाल्दा विश्वभरी यसको पराकम्प देखियो । हाडलाइनर नेता ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिको कारण विश्वका थुप्रै देशहरु चेपुवामा परेका छन् । आफ्ना दुश्मन मात्रै नभएर मित्रराष्ट्रहरुमाथि समेत ट्रम्पले कर युद्ध छेड्नुभयाे । यसले विश्व व्यापारमा नयाँ ध्रुवीकरण मात्रै गरेन, तर्साएर आफ्ना एजेण्डा लाद्ने नयाँ ट्रेण्डको शुरुवात गरायो । अमेरिकामा रहेका आप्रवासीहरू सामूहिक निर्वासनको मारमा परे । राष्ट्रसंघ लगायतका बहुराष्ट्रिय फोरममा अमेरिकी बजेट कटौतीले सामुहिकताको सोच फितलो बन्दै गयो ।
व्यापरमा अमेरिकी प्रभावले अन्य देशहरुलाई संकटमा पार्दा द्धन्द्ध व्यवस्थापन र युद्धको अन्त्यमा भने ट्रम्प निकै प्रभावकारी देखिनुभयाे । सन् २०२३ देखि गाजापट्टीमा आक्रमण गरिरहेको इजरायललाई मनाएर उहाँले युद्धविराम गराउनुभयाे। रुस युक्रेन युद्ध अन्त्यको लागि उहाँको प्रयास जारी नै रहेकाे छ । दक्षिण एसियाली आणविक राष्ट्रहरु भारत र पाकिस्ताबीच एकाएक भड्किएको युद्ध रोक्न ट्रम्पले नै निर्णायक हस्तक्षेप गरेको बताइएको छ । शान्तिका लागि उहाँले गरेका प्रयासकै कारण विश्वका केही नेताले उहाँलाई नोबेल शान्ति पुरस्कारको हकदार ठानेका छन् । पछिल्लो सयम भेनेजुएलामाथिको अमेरिकी नाकाबन्दी र तेल ट्यांकरमाथिको आक्रमण पनि चर्चामा रहेकाे छ।
ट्रम्प पछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन वर्षको दोस्रो चर्चित हेडलाइन बन्नुभयाे। युक्रेनमा जारी रुसी युद्ध र शान्ति प्रयासले निष्कर्ष निकाल्न नसकेपनि वर्षभरी चर्चा कमायो । यो वर्ष इजरायलले इरानसँग युद्ध लड्यो । हमासलाई सहयोग गरेको भन्दै इजरायलले गत जुन १३ तारिखमा तेहरान र आसपास हमला गयो । यो हमलामा अमेरिकाले पनि साथ दियो । जवाफमा इरानले पनि आक्रमण थाल्यो । १० दिन चलेको युद्धमा इरानतर्फ थुप्रै हताहत भयो । इजरायलले अन्य छिमेकी देशहरु लेबनान, सिरीया र यमनमा पनि आक्रमण जारी राख्यो ।
भारतका लागि सन् २०२५ आत्मविश्वास र आकांक्षाको वर्ष रह्यो । यो वर्ष भारतले आर्थिक विस्तार, पूर्वाधार विकास र रक्षा आत्मनिर्भरतामा फड्को मार्यो । अमेरिकासँग व्यपार टकराव बढ्दै जाँदा रुस र चिनसँग सन्तुलित सम्बन्धमार्फत भारतले आफू नझुक्ने सन्देश दियो । वर्षको अन्त्यमा आइपुग्दा भारत विश्वका ठूला अर्थतन्त्रको सूचीमा जापानलाई उछिन्दै चौथो स्थानमा उक्लिन सफल भयो । छिमेकी चीनसँगको प्रतिस्पर्धालाई पूर्ण टकरावमा रूपान्तरण हुन नदिने सावधानी पनि भारतले अपनायो।
वर्ष २०२५ चीनका लागि स्वमूल्यांकन र पुनः संरचनाको वर्ष बन्यो । दशकौंको तीव्र आर्थिक वृद्धिपछि चीन सुस्त अर्थतन्त्र, रियल इस्टेट संकट र युवामाझ बढ्दो बेरोजगारीजस्ता चुनौतीको सामना गरिरहेको थियो । यस्ता अवस्थाबीच चीनले घरेलु बजार सुदृढीकरण, प्रविधिमा आत्मनिर्भरता र राज्य-केन्द्रित विकास मोडेललाई थप बलियो बनायो । कृत्रिम बौद्धिकता, उच्च प्रविधिका सामग्री उत्पादन र सैन्य आधुनिकीकरणले चीनलाई विश्वका अग्रणी मुलुकको सूचीमा स्थापित गरायो ।
विश्व शासनका बहुपक्षीय मञ्चमा पनि २०२५ परिवर्तनको वर्ष बन्यो । जोहानेसबर्गमा सम्पन्न जी-२० शिखर सम्मेलनले पहिलोपटक अफ्रिकाको महत्व पुष्टि गर्यो । चीन र अमेरिकी राष्ट्रपतिबीच कोरियामा भएको भेटवार्ता पछि चिसिएको अमेरिका–चीन सम्बन्ध पुनः हार्दिकतातर्फ फर्कियो । राष्ट्रसंघलाई दिने अनुदानमा अमेरिकाले भारी कटौती घोषणा गर्यो । यसले विश्वका मध्यम तथा न्यून आयस्तर भएका देशमा संचालित राष्ट्रसंघका परियोजनाहरु घराशायी हुने जोखिम निम्त्याएको छ।
भारतमा निर्वासित जिवन बिताईरहेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई बंगलादेशको अदालतले मृत्युदण्डको सजाय सुनाउदा दक्षिण एशियाभर तरंग फैलियो । बंगलादेशमै हिन्दु यवा मारिएको घटना र भड्किएको प्रदर्शनले भारतसँगको सम्बन्ध झनै तिक्तता बनायो । बंगलादेशमा चुनाव नजिकदिै जाँदा बेलायतमा निर्वासनमा रहेका नेता रहमान ढाका फर्किनुभयाे । यसको केही दिनमै उहाँकी आमा तथा पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनले बंगलादेश शोकमा डुब्यो ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरी त्यहाँको एक अदालतले १४ वर्ष र खानकी पत्नी बुशरा बिबीलाई सात वर्षको जेल सजाय विश्वव्यापी चर्चाको अर्को समाचार हुन पुगेको छ । आफ्नो नेतृत्वप्रति बढ्दो असन्तुष्टिको सामना गर्दै आएका क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोद्वारा राजीनामाको घोषणा र मध्यावधि निर्वाचन पनि यस वर्षको अर्को चर्चित घटना हो ।
सन् २०२५ मै थाइल्याण्ड र कम्बाेडिया सीमामा भीषण लडाई शुरु भयो । थाइल्याण्डका पूर्वप्रधानमन्त्री पेइतोग्तान शिनावात्राको टेलिफोन संवाद लिक हुँदा सेनाको आलोचना बढ्दै शिनावात्राले पद छाेड्नपर्ने दबाब सिर्जना भयो । सालको अन्यमा थाइल्याण्ड कम्वोडियाबीच युद्धविराम भयो । सन् २०२५ मा पोप फ्रान्सिसको निधन पनि वर्षको मुख्य घटना बन्यो । भारतका चर्चित अभिनेता धर्मेन्द्रको निधनमा बलिउड शोकमा डुव्यो ।
वर्ष २०२५ मा जर्मनी र क्यानाडामा नेतृत्व परिवर्तन भयो । जापान, नामिबिया र नेपालले पहिलो पटक महिला प्रधानमन्त्री पाएका छन् । गत भदौमा नेपालमा भएको जेनजी आन्दोलन र सत्तापलटले पनि विश्वभरीचर्चा पायो । नवयुवाको आन्दोलनले २४ घण्टामै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यूत गराएको घटनालाई विश्वले फरक राजनीतिक घटनाको रुपमा लियो ।





प्रतिक्रिया दिनुहोस्