काठमाडाैं। विभिन्न राजनीतिक दलहरुले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारहरुको बन्दसूची बुझाएसँगै मुलुक निर्वाचनमा होमिएको छ।
निर्वाचन होला कि नहोला भन्ने आशंका र अन्योलकाबीच यसले निर्वाचनतर्फ होमिएको सन्देश दिएको हाे। समानुपातिक उम्मेदवार चयनमा भने दलहरुले उम्मेदवार चयनमा लक्षित वर्गलाई बेवास्ता गरेको भन्दै आलोचना भइरहेको छ।
समानुपातिक उम्मेदवार चयनमा विगतदेखि नै शक्ति र पहुँच हावी हुँदै भएको छ। खासगरी नेतृत्व तहमा पुगेकाहरुका नातेदार, व्यापारी र शक्ति केन्द्रलाई रिझाउन सक्ने व्यक्तिहरु यो निर्वाचन प्रणालीको सूचीमा पर्दै आइरहेका हुन् । यहाँसम्म आइपुग्दा त्यो क्रम केही कम त भएको छ तर रोकिएको छैन । निश्चित क्षेत्र, वर्ग र लक्षित समुदायको प्रतिनिधित्व हुनुपर्ने मान्यतालाई दलहरुले कुल्चिदा विधिको शासनमाथि नै प्रश्न उठिरहेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दलहरुले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको सूची बुझाएका छन् ।
साेही सूचीमा निश्चित समुदायको प्रतिनिधित्व भन्दा पनि लोकप्रिय व्यक्तिहरुको हालीमुहाली छ । यसपटक पटक-पटक अवसर पाएका व्यक्तिहरुलाई भने स्थान दिइएको छैन । पार्टीमा योगदान गरेका तर अवसर नपाएकाहरु समानुपातिकमा परेका छन् । यस्ता उम्मेदवारहरुमा कलाकारदेखि सार्वजनिक छवि बनाइसकेका व्यक्तिहरु छन् ।
पुराना दलहरुले यसअघि अवसर पाएकाहरुलाई केही हदसम्म समेट्दै नयाँहरुलाई अघि बढाएका छन् । जस अन्तर्गत कांग्रेसले पुरानालाई ५ प्रतिशत र नवयुवाहरुलाई प्राथमिकता दिएको छ । एमालेले पुराना नेताहरु समेटेर नयाँलाई बढी प्राथमिकता दिएको छ । नेपाली कम्युनिष्ट पार्टीले पनि विगतमा समानुपातिकमा अवसर नपाएकालाई प्राथमिकता दिएको छ । अर्कोतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले रवि, बालेन र कुलमान घिसिङ समूह अनुसार भाग-बण्डा गरेको छ । जसअनुसार, रवि लामिछाने समूहबाट ५२, बालेन शाह समूहबाट ४० र कुलमान घिसिङको समूहबाट १८जना उम्मेदवार बन्द सूचीमा परेकाेराजनीतिक विश्लेषक महेश भट्टराईले बताउनुभयाे।
दलहरुले अवसर नपाएकालाई अवसर दिएपनि तिनमा पनि शक्ति र पहुँच नै हावी भएको देखिन्छ । नयाँ र पुराना दलका उम्मेदवारहरुमध्ये केही उम्मेदवारमा शीर्ष नेताकै नातेदार हावी भएका छन् । अर्कोतर्फ, सार्वजनिक छवि बनाएका र लोकप्रिय व्यक्तिहरु समानुपातिकको सूचीमा अटाएका छन् । प्लेटफर्म भएकाहरुले अवसर पाएका छन् भने प्लेटफर्म नभएकाहरु यो सूचीमा अटाएका छैनन् । यसले समानुपातिक निर्वाचन प्रणालीकै धज्जी उडाएको छ।
भिडियाे रिपोर्ट:





प्रतिक्रिया दिनुहोस्