काठमाडाैं। राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभाका तीन ठूला राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गरेपछि त्यसको विभिन्न कोणबाट टिप्पणी भइरहेको छ।
निर्वाचनमा होमिएको सरकार र निर्वाचनमा जान आनाकानी गरिरहेका दलका शीर्ष नेताहरुबीच भेटवार्ताले पानी बाराबारको अवस्थाको त अन्त्य भएको हाे। तर त्यहीं एउटा भेटबाट निर्वाचनकाे बारेमा रहेको संशय टुंगियो भन्ने अवस्था भने छैन ।
मुलुकको राजनीतिक गन्तब्य अझै पनि दिशाहीन अवस्थामा रहेकाे छ। जेनजी आन्दोलनपछि थला परेको राजनीतिले बाटो पहिल्याउन नसक्दा एक पछि अर्को संकटको संशय पनि छाइरहेको हाे। अन्तरिम सरकारले निर्वाचनको रटान लगाइरहेको त छ । तर पुराना दलहरु निर्वाचनमा सामेल हुन भन्दा भाग्न उद्दत देखिएका छन् । उनीहरुले यसमा थुप्रै शंका-उपशंका गरिरहेका छन् ।
यस्ता गतिविधिले मुलुकको राजनीति कता जाने हो भन्ने अन्योल जस्ताको त्यस्तै छ। अन्याेल चिर्ने उदेश्यले जेनजी आन्दोलन भएको १ सय दिनपछि प्रधानमन्त्री कार्कीले आन्दोलनबाट सत्ताच्युत भएका दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नुभयो । यो छलफलपछि सरकार र दलबीच रहेको संवादहीनता त तोडिएको छ । तर, अझैं निर्वाचन हुनेमा आशंकाहरु भने बाँकी नै रहेकाे नेकपा एमालेका नेता विशाल भट्टराईले बताउनुभयाे।
सरकार घोषित मितिमै निर्वाचन गर्ने तयारीमा अघि बढेको छ। नेपाली कांग्रेस र एमाले निर्वाचनको वातावरण नभएको भन्दै निहुँ खोजिरहेका छन् । उनीहरुले संसद पुनस्थापनामै जोड दिइरहेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीसँगको छलफलमा पनि दलका नेताहरुले यहि अडान दोहोर्याए । अर्कोतर्फ राष्ट्रपति र प्रधानमन्त्रीले निर्वाचनमा जानका लागि संवाद गरेकाे सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनुभयाे।
अर्कोतिर नयाँ राजनीतिक दलहरु भने निर्वाचनका लागि उत्साहित बन्दै गइरहेका छन् । नयाँ दलहरुले सरकारलाई साथ पनि दिइरहेको अवस्था छ। नयाँ दलहरुमा चुनाव लक्षित गठ-जोडको अभ्यास पनि तीव्र बनेको राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले बताउनुभयाे।
सरकारदेखि सबै राजनीतिक दलहरु आफ्नै तयारी र रणनीतिमा छन् । तर सबै दल निर्वाचनलाई सफल बनाउनका लागि सरकारलाई सघाउने गरी एकै ठाउँमा आइहाल्ने वातावरण भने अझै बनेको छैन । संवादहीनता तोडिएकाले अबको प्रयास मुलुकलाई अन्याेलको भूँभरीबाट बाहिर ल्याउन एकजुट हुनेतर्फ केन्द्रित हुनु जरुरी छ।
भिडियाे रिपाेर्ट:





प्रतिक्रिया दिनुहोस्