तेह्रथुम। संखुवासभा र ताप्लेजुङको संगमस्थलमा अवस्थित गुफा बजार क्षेत्र वर्षौंदेखि पानीको समस्याबाट गुज्रिदै आएको छ।
तीनजुरे-मिल्के-जलजले (टिएमजे) संरक्षित क्षेत्रभित्र पर्ने यो पर्यटकीय बजारमा पानीको समस्याले स्थानीय सास्ती खेप्दै आएका हुन् । पानीको अभावले स्थानीय बासीन्दा र होटल व्यवसायीलाई मात्रै होईन, त्यस क्षेत्रको भ्रमणमा पुग्ने स्वदेशी तथा विदेशी पर्यटक सबैलाई हैरानी खेप्नु परेको छ।
प्राकृतिक सौन्दर्य, जैविक विविधता र धार्मिक महत्वले भरिपूर्ण टिएमजे क्षेत्र हरेक वर्ष हजारौं पर्यटकको रोजाइमा पर्छ । हिमाल, हरियाली र लालीगुराँसले सजिएको गुफापोखरी र वरिपरिका डाँडामा रम्न आउने पर्यटकको मुख्य बसोबास केन्द्र भने यहि सानो गुफा बजार हो। तर पछिल्ला वर्षहरूमा यही बजारमा खानेपानीको अभाव गम्भीर समस्या बनेको छ। स्थानीय होटल व्यवसायीहरू पनि यहि समस्या भोगिरहेका छन् । पर्यटकको सत्कार गर्न र उनीहरूको आवश्यकता पूरा गर्न कठिनाइ भएको दार्जिलिङ होटल संचालक सोनाम शेर्पाले बताउनुभयाे।
पानीको अभावका कारण पाहुनालाई सेवा पुर्याउनै मुस्किल रहेको छ। ट्यांकरको पानी खरिद गरेर पर्यटकको सेवा गर्नुपर्दा खर्च बढाउने र व्यवसायमै असर पुग्ने व्यवसायीको गुनासो छ । पर्यटकहरूको प्रमुख मार्ग समेत रहेको यो क्षेत्रबाट कञ्चनजञ्घा हिमालको आधार शिविरतर्फ यात्रामा निस्कने तथा तमोर नदीमा र्याफ्टिङ गर्ने पर्यटकहरू समेत यही बाटो भएर आवतजावत गर्ने गर्छन् । तर पानीको अभावले यहाँको पर्यटन व्यवसाय र पाहुनाको अनुभवमा नकारात्मक प्रभाव पर्न थालेको स्थानीयबासी सिरिहाङ लिम्बुले बताउनुभयाे।
पानीको समस्याको स्थायी समाधानका लागि गुफापोखरी सामुदायिक लिफ्टिङ खानेपानी आयोजना निर्माण भइरहेको छ । करिब तीन करोड रूपैयाँ लागतको यो आयोजना अहिले अन्तिम चरणमा पुगेको हाे ।आयोजनाको करिब ८० प्रतिशत काम सकिएको निर्माण समितिको दावी छ। मुहानबाट सात सय मिटर मुख्य पाइप विस्तार र मुख्य ट्यांकी निर्माण जस्ता काम भएका छन् । यो योजना सम्पन्न भइपछि केही राहत मिल्ने भएपनि अहिलेको अवस्था भने कठिन बनिरहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष प्रकाश आचार्यले बताउनुभयाे।
यो आयोजना मार्फत गुफा बजार आसपासका करिब ६५ घरपरिवार शुरुवाती चरणमा लाभान्वित हुने भएका छन् ।भविष्यमा १ सय ५० भन्दा बढी परिवारलाई स्थायी रूपमा पानी आपूर्ति हुने भएकाे हाे। जसले गुफा बजारमा वर्षौंदेखि सताएको पानीको समस्या समाधान गर्ने अपेक्षा गरिएको छ।
भिडियाे रिपोर्ट:





प्रतिक्रिया दिनुहोस्