काठमाडाैं। नेकपा एमालेको तेस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित खड्गप्रसाद ओली अर्थात केपी शर्मा ओलीको जन्म २००८ साल फागुन ११ गते तेह्रथुममा भएको हो।
५ दशक लामो राजनीतिक यात्रा पूरा गरेका ओली नेतृत्व परिवर्तनको मागसहित भएको जेनजी आन्दोलनपछि १ वर्ष अगावै गरिएको महाधिवेशबाट अध्यक्षमा दोहोरिनुभएको छ। एमालेमा नेतृत्व परिवर्तनको बहस चलिरहेको समयमा भएको महाधिवेशनमा हालका अध्यक्ष ओलीसँग वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलसहित प्रतिस्पर्धा गर्नुभयो। १० औं महाधिवेशनमा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका भीम रावलविरुद्ध ओलीको रबैया ११ औं महाधिवेशनमा देखिएन । सहज वातावरणमा प्यानलसहित चुनावी मैदानमा उत्रिएका दुवै पक्षबाट पदाधिकारीसहित केन्द्रीय कमिटी सदस्य पनि निर्वाचित भएका छन्।
अध्यक्षमा ओलीको पल्लाभारी हुने पूर्वानुमान अनुसार पोखरेललाई पराजित गर्दै तेस्रो कार्यकालका लागि अध्यक्षमा चुनिनुभएका ओलीको जन्म २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा भएको हो। ओली डेढ वर्षको हुँदा आमाको निधन भएको समकालीन एमाले नेताहरु बताउँछन् । उहाँ ५ वर्षको हुँदा उहाँका पिता मोहनप्रसाद ओली बालबच्चा लिएर झापाको सुरुङ्गामा बसाइँ सर्नुभएको थियो।
ओली २०४४ साल पुस २ गतेबाट धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा (माले) को बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा पुग्नुभयो । २०४६ मा तत्कालीन नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुख बनेका ओली २०४७ जेठ १ गते युवा संघको संस्थापक अध्यक्ष बन्नुभयो । २०४९ सालदेखि एमालेको स्थायी कमिटी सदस्य निर्वाचित हुनुभयो। २०४८ सालको आम निर्वाचनमा झापाबाट सांसद निर्वाचित हुनुभएका ओली २०५१ सालमा पुनः सोही क्षेत्रबाट निर्वाचित हुनुभयो । एमालेको ९ महिने सरकारमा ओली नेपालको पहिलो कम्युनिस्ट सरकारको गृहमन्त्री बन्नुभएकाे थियाे।
२०५६ सालको आम निर्वाचनमा झापा क्षेत्र नम्बर २ र ६ बाट सांसद जितेका ओली २०६४ मा भने झापाकै सोही क्षेत्रमा माओवादीका सामान्य कार्यकर्ता विश्वदीप लिङदेनबाट पराजित हुनुभयो । तर, २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट पुनः भारी मतका साथ जितेर आएपछि ओलीको निरन्तर विजयी यात्रा अघि बढ्यो। ओलीले गृहमन्त्री र पराराष्ट्रमन्त्रीका रुपमा राजकीय जिम्मेवारी दुई पटक मात्र सम्हाल्नुभयो। दुवै पटक विवादमा पर्नुभएन । २०५१ सालमा गृहमन्त्री बन्नुभएका ओली २०६२–६३ सालको जनआन्दोलनलगत्तै बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री बन्नुभयो।
२०७१ साल असारमा भएको नवौं महाधिवेशनमा तत्कालीन महासचिव माधवकुमार नेपाललाई झिनो मतले पराजित गरेपछि ओली त्यसयता निरन्तर अध्यक्ष बन्नुभएको छ। २०७४ सालमा तत्कालीन एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत हुनुभयो। तर, अर्का अध्यक्ष पुष्पकमल दाहालसँग नेतृत्व टकराव हुँदा नेकपा विभाजन भयो। त्यसपछि उहाँ साविक पार्टीको अध्यक्ष बन्नुभयो। २०७८ सालमा एमाले विभाजन भएपछि मंसिरमा चितवनको सौराहमा भएको १०औं महाधिवेशनमा दोस्रो पटक अध्यक्षमा निर्वाचित हुनुभयो ।
गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहबाट सत्ताच्युत भएका ओलीले पार्टीभित्र नेतृत्व हस्तान्तरणको बहस पेचिलो हुँदै गएपछि नियमित महाधिवेशनलाई एक वर्षअगाडि नै सार्नुपर्यो। अघिल्लो महाधिवेशनमा सर्वसम्मत हुनबाट पूर्वउपाध्यक्ष डा. भीम रावलले रोक्नुभएको थियो। यस पटक पनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिएता पनि ओली तेस्रो कार्यकालका लागि एमालेको अध्यक्षमा निर्वाचित हुनुभयो।
अन्त्यमा एमालेकाे अध्यक्ष पदमा तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएका ओलीलाई बधाई एवं सफल कार्यकालको शुभकामना छ।
भिडियाे रिपोर्ट:





प्रतिक्रिया दिनुहोस्