काठमाडाैं। नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ।
पार्टीकाे ११औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि बुधबार भएको मतदानबाट ओली लगातार तेस्रो कार्यकालका लागिन निर्वाचित हुनुभएको हो। एमाले अध्यक्षमा ह्याट्रिक गर्दा ओलीले दुई तिहाइ भन्दा बढी मत पनि प्राप्त गर्नुभएको छ। एमालेका कूल २ हजार २ सय ६३ जना महाधिवेशन प्रतिनिधि मध्ये २२ सय २७ जना मतदानमा सहभागी भएकोमा ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गर्नुभयो। ओलीका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त मात्रै प्राप्त गर्नुभएकाे छ।
तेस्रो पटक अध्यक्ष हुँदा सर्वसम्मत हुन चाहेका ओलीलाई पोखरेलले चुनौती दिनुभएको थियो। ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा फर्किन रोक लगाएपछि पोखरेल ओलीको प्रतिष्पर्धीको रुपमा खडा हुनुभएको थियो। अध्यक्ष पछिको अर्को शक्तिशालि पद महासचिवमा पनि ओली प्यानलकै शंकर पोखरेल निर्वाचित हुनुभएको छ। दोस्रो पटक महासचिवमा निर्वाचित हुनुभएका पोखरेलले १ हजार २ सय २८ मत प्राप्त गर्नुभयो भने प्रतिष्पर्धी सुरेन्द्र पोण्डले ९ सय ९९ मत प्राप्त गर्नुभयो।
महासचिवमा पोखरेल र पाण्डेबीच २ सय २९ मतको मात्रै फरक परेको छ। पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित हुनुभएको छ। त्यस्तै, ५ जना उपाध्यक्षका लागि ११ जनाबीच प्रतिष्पर्धा भएकोमा ओली पक्षबाट विष्णु पौडेल, रामबहादुर थापा, पृथ्वी सुब्बा गुरुङ र रघुवी पन्त निर्वाचत भएका छन्। पोखरेल पक्षबाट एक जना गोकर्ण विष्ट मात्रै निर्वाचित हुनुभएको छ । ३ जना उपहासचिव मध्ये पोखरेल प्यानलका योगेश भट्टराई निर्वाचित हुनुभएको छ। ओली प्यानलबाट रघुवीर महासेठ र लेखराज भट्ट निर्वाचित भएका हुन्।
उपमहासचिवमा उठेका ओलीका प्रमुख सल्लाहाकार रहँदै आएका विष्णु रिमाल पराजित हुनुभएको छ । रोचक त के छ भने रिमाल केन्द्रीय सदस्यमा समेत पराजित हुनुभएको छ । त्यसैगरी नौ जना सचिवमा पनि सबै ओली पक्षबाटै निर्वाचित भएका छन् । सचिवमा महेश बस्नेत, खगराज अधिकारी, शेरधन राई, राजन भट्टराई, भानुभक्त ढकाल, हिक्मत कुमार कार्की, पद्मा अर्याल, यामलाल कँडेल र छविलाल विश्वकर्मा निर्वाचित भएका हुन् । १९ सदस्यीय पदाधिकारीमा १७ जना ओली पक्षमा निर्वाचित भएका छन् भने पोखरेल पक्षबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई मात्रै निर्वाचित भएका छन् ।
केन्द्रीय सदस्यहरुमा पनि अधिकांश ओली प्यानलकै निर्वाचित भएका छन् । पोखरेल पक्षबाट सचिवमा परािजत भएका गोकुल बास्कोटा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । त्यस्तै, सचिवमा पराजित हुनुभएका ओली पक्षकै ठाकुर गैरे पनि केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ। त्यस्तै, उपाध्यक्षमा उम्मेदवारी दिन नचाहेका प्रदीप ज्ञवाली सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हाे। ज्ञवालीलाई १ हजार ९ सय ४२ मत प्राप्त भएको छ।
त्यस्तै, नेकपा एकीकृत समाजवादी छाेडेर एमालेमा फर्किएकी रामकुमारी झाँक्री पनि १ हजार ९ सय ११ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ। त्यसैगरी काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल पनि ओली प्यानलबाटै केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ। स्वर्गीय पूर्वसभामुख सुवासचन्द्र नेम्वाङका पुत्र सुहाङ नेम्वाङ पनि केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हाे। एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा विद्युतीय मतदान भएता पनि उम्मेदवारहरुको लामो सूचीका कारण मतदान प्रक्रिया निकै लम्विएको थियो।
गत मंसिर २७ गते शुरु गरेर २९ गते सम्पन्न गर्ने भनिएको एमाले महाधिवेशन अर्को ३ दिनपछि बल्ल पुस ३ गते सम्पन्न भएकाे छ।
भिडियाे रिपाेर्ट:





प्रतिक्रिया दिनुहोस्