काठमाडौं, असोज ७ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे आफ्नो मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच कुनै विमति नरहेको स्पस्ट पारेका छन् ।
राष्ट्रिय संरक्षण दिवसका अवसरमा ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा आइतबार आयोजित कार्यक्रममा उनले विमानस्थल निर्माणबारे दुवै मन्त्रालयबीच समन्वयात्मकरुपमा छलफल चलिरहेको बताए ।
मन्त्री बस्नेतले भने–‘दुवै मन्त्रालयको समान धारणा छ । विमानस्थल जसरी पनि बन्नुपर्छ’–उनले भने ।
उनले मुलुकको आवश्यकताले अर्काे अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउनुपरेको भन्दै त्यसबारे नकारात्मक बहस नगर्न सम्बद्ध पक्षलाई आग्रह गरे ।
‘मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमताले नधान्ने अवस्थामा पुगेकाले विकल्पकारुपमा निजगढ विमानस्थल निर्माण गर्न लागिएको हो’–उनले भने ।
विमानस्थल निर्माणबारे केहीले सकारात्मक चिन्ता जाहेर गरेको, केहीले स्थानीय स्वार्थ र केहीले राजनीतिक स्वार्थका आधारमा बहस चलाएको भन्दै उनले सकारात्मक चासोको सम्मान गर्दै सरकारले विमानस्थल निर्माण गरेरै छाड्ने अठोट व्यक्त गरे ।
कमभन्दा कम वातावरणीय क्षतिमा विमानस्थल बनाउनुपर्ने विषयमा आफू सचेत र स्पस्ट रहेको मन्त्री बस्नेतले बताए ।
‘विमानस्थल बन्नुपर्छ । त्यो न्यूनतम् वातावरणीय क्षतिमा हुनुपर्छ’–मन्त्री बस्नेतले भने–‘कमभन्दा कम क्षतिमा विमानस्थल बन्नुपर्छ भन्नेमा सरकारको स्पस्ट दृष्टिकोण छ ।’
सकारात्मक चासो, चिन्ता र जिम्मेवारी बोधसहित जैविक विविधताको संरक्षणबारे उठाइएका सवालहरुको भने सरकारले उचित सम्मान तथा सम्बोधन गर्ने मन्त्री बस्नेतले प्रतिबद्धता व्यक्त गरे ।
वातावरण र विकासलाई एकार्काकाविरोधी पक्षकारुपमा नभइ पूरककारुपमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।
वि.सं. २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन वन तथा भू–संरक्षणमन्त्री गोपाल राईसहित २४ वातावरण संरक्षणकर्मीको निधन भएको थियो ।
सोही दिनको सम्झनामा वन मन्त्रालयले हरेक वर्ष असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसकारुपमा मनाउँदै आएको छ । रासस
प्रतिक्रिया दिनुहोस्