एजेन्सी। अष्ट्रेलियामा बुधबारदेखि १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाइएको छ।
अष्ट्रेलियाको सिनेटमा पेश गरिएको १७ पृष्ठ लामो विधेयक सिनेटले पारित गरेसँगै १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको पहुँचमा बन्देज गर्न लागेको हो। अष्ट्रेलियामा सामाजिक सञ्जालको प्रयोगले बालबालिकामा गम्भीर मानसिक असर पुर्याएको भन्दै १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्चाल प्रयोगमा बन्देज लगाइएको छ। सामाजिक सञ्जाल प्रयोग सम्बन्धी विधेयक संसदबाट पारित भएसँगै अष्ट्रेलियामा यो नियम लागू भएको हो। प्रधानमन्त्री एन्थोनी अल्बानीजका अनुसार नयाँ कानून कार्यान्वयनमा आएसँगै इन्टनेट र सामाजिक सञ्जालको असरबाट बालबालिकालाई टाढा राख्न सकिनेछ।
सामाजिक सञ्जालमा समय बिताउँदा राम्ररी नसुत्ने, विद्यालय-पढाइमा ध्यान केन्द्रित गर्न नसक्ने र फोन बाहेक बाहिरी रुचि नराख्ने अनि परिवारका सदस्यसँग अन्तर्क्रिया लगभग शून्यको अवस्था रहेको भन्दै अष्ट्रेलियाले यो नियम ल्याएको हो। सामाजिक सञ्जालका कारण बालबालिकामा भविष्यमा डर लाग्दो अवस्था आउनबाट रोक्न यो कदम चालिएकोअष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी एल्बनिजीको भनाइ छ। अष्ट्रेलियाको यो नयाँ कानूनले बालबालिकाको जिम्मेवारी प्रविधि कम्पनीको काँधमा राखिदिएको छ। बालबालिकाका आमाबाबुलाई निगरानीको जिम्मा नदिएर यस कानूनले कम्पनीलाई १६ वर्ष भन्दा मुनिका बालबालिकाले अकाउन्ट बनाए नबनाएको सुनिश्चित गर्ने दायित्व सुम्पेको हो। सम्बोधन नगरको पाइएमा कम्पनीका लागि ठूलो जरिवाना गर्ने बताइएको छ।
विश्वभरी नै पछिल्लो समय साना कुराका लागि सामाजिक सञ्जालमा भरपर्ने प्रवृत्ति बढ्दो छ। अझै यो उमेरका बालबालिकामा समाजिक सञ्जाल विनाको जीवन नै कल्पना गर्न नसक्ने अवस्थाले भयावह रुप लिनसक्ने चुनौतीका कारण यो नीति लिइएको हो। यद्यपी अस्ट्रेलियामा ८ देखि १५ वर्ष उमेर समूहका ८६ प्रतिशत बालबालिमा सामाजिक सञ्जालमा रहेको बताइएको छ। जसका कारण यसको कार्यान्वयन चुनौतीपूर्ण रहेको छ। अस्ट्रेलियामा धेरै अभिभावकले यो कानूनको स्वागत गरेको जनाइएकाे छ।
तर, धेरै विज्ञहरूले यसकाे बारेमा प्रश्न पनि उठाइरहेका छन् । बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने र त्यसबाट रोक्न सम्भव छ कि छैन भन्ने प्रश्न उठिरहेका छन् । अष्ट्रेलियाको मात्र नभइ अन्य देशहरूका लागि पनि यो कानूनको कार्यान्वयन पक्ष चासोको विषय बनेको हाे। यसअघि फ्रान्सले पनि १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्चाल प्रयोगमा रोक लगाएको थियो।





प्रतिक्रिया दिनुहोस्