२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024


न्यायाधीश जोशीलाई महाअभियोग नलगाउन सत्तारुढ दललाई कांग्रेसको चेतावनी


0
Shares

काठमाडौं, असोज ७ । नेपाली कांग्रेसले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई महाअभियोग लगाएर गल्ती नगर्न सत्तारुढ दललाई सचेत गराएको छ ।

राष्ट्रियसभाको आइतबार बसेको बैठकमा कांग्रेस सांसद राधेश्याम अधिकारीले जोशीमाथि महाअभियोग लगाउन खाली कागजमा हस्ताक्षर संकलन गरिएको भन्दै सरकार सबै क्षेत्रमा असफल भएपछि जनताको ध्यान अन्यत्र मोड्न खोजेको आरोप लगाए ।

सत्तारुढ दलका नेताले ‘अदालतले सरकारलाई सहयोग गर्नुपर्‍यो’ भनेको उल्लेख गर्दै उनले ‘अदालतले सरकारलाई सहयोग गर्ने भनेको हरेक निर्णयमा ठप्पा लगाउँदै जाने ?’ भनी प्रश्न गरे ।

सांसद अधिकारीले अवस्था यस्तै रहे अदालत, अदालत नभइ अमुक पार्टीको शाखा कार्यालय बन्ने दाबी गरे ।

महाअभियोग समान्य अवस्थामा प्रयोग गर्ने अस्त्र नभएको भन्दै उनले कांग्रेसले गरेको गल्ती नदोहोर्‍याउन आग्रहसमेत गरे ।

सांसद अधिकारीले कांग्रेसले तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गरेको महाअभियोग गलत भएको र जनताले त्यसको दन्ड पनि दिएको बताए ।

तत्काल लाभ लिन सकिएपनि यसले निम्त्याउने दुस्परिणाम एउटा पार्टीलेमात्र नभइ राज्यले व्यहोर्नुपर्ने उनको भनाइ थियो ।

अधिकारीले न्यायाधीश जोशीलाई ‘राजनीमा दिए दिनोस्, नदिए महाअभियोग लगाउँछौं’ भन्नु स्वीकार्य नभएको स्पस्ट पारे । महाअभियोग लगाउने वस्तुगत कारण नै नभएको उनको तर्क थियो ।

जोशीलाई संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेको थियो । त्यसपछि केही समय बिदामा बसेका उनी अहिले सर्वोच्चमा दैनिक कार्य गरिरहेका छन् ।