Logo १९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025


याक्खा समुदायको चासुवा पर्व भव्य रूपमा मनाइयो

लोपोन्मुख संस्कृतिको संरक्षणमा धनकुटाका युवाको सक्रियता बढ्दै

0
Shares

तेह्रथुम। चासुवा तङ्नाम पूर्वी नेपालको याक्खा समुदायको एक मौलिक पर्वकाे रुपमा लिइन्छ।

गाउँघरको बोलीचालीमा ‘न्वागी पूजा’ पनि भनिने यो पर्वलाई सामाजिक, साँस्कृतिक, धार्मिक र पारिवारिक तथा समग्र जीवन पद्धतिको नयाँ चक्र शुरु गर्ने विधि मानिन्छ। यसलाई पूर्वी नेपालका जिल्लामा पर्वको रुपमा पनि मनाइन्छ।

याक्खा भाषामा “चासुवा” शब्द “चो” अर्थात् ‘खा’ र “ऊवा” अर्थात ‘झोल’ भन्ने शब्दबाट बनेको मानिन्छ। कालान्तरमा ‘चोऊवा’ ‘चासुवा’ हुँदै प्रचलनमा आएको हो। चासुवा पर्वमा आफ्नै उत्पादन गरेका अन्नबाली प्रकृतिलाई अर्पण गरेर मात्र खाने धार्मिक–साँस्कृतिक परम्परा रहँदै आएकोछ। आफूले लगाएको बाली थन्याएर नयाँ अन्न न्वागी गरी खाने प्रचलनलाई नै चासुवा पर्वको रूपमा मनाउने गरिएको हो। किरात याक्खा छुम्मा जिल्ला कार्यसमिति धनकुटाका सल्लाहकार रुद्रबहादुर तुम्बाले बताउनुभयाे।

हालका वर्षहरूमा देश–विदेशमा रहेका याक्खा समुदायले यो पर्वलाई अझ भव्य र व्यवस्थित रूपमा मनाउँदै आएका छन् । यस वर्ष महालक्ष्मी नगरफालिका- ७ को आर्थिक सहयोगमा आयोजित कार्यक्रममा स्थानीयले सक्रिय सहभागिता जनाएका छन् । कार्यक्रममा समावेश गरिएका च्याब्रुङ नाच, धान नाच र डोकेनी नाचलगायतका साँस्कृतिक प्रस्तुतिहरू मुख्य आकर्षण बनेका थिए । लोपोन्मुख संस्कृतिको संरक्षणमा युवाहरूको सक्रियताले यो पर्वको महत्व झनै बढेको किरात याक्खा छुम्मा-७ कार्यसमितिका अध्यक्ष दनिराज लुम्बाले बताउनुभयाे।

यो पर्वमा अन्नबाली पाकेपछि पहिलो पटक इस्टदेवी-प्रकृतिलाई अर्पण गरी, माङबा–छाम्बाको सहयोगमा परम्परागत विधि अपनाइन्छ। त्यसपछि मात्र समुदायका सदस्यहरूले नयाँ अन्न ग्रहण गर्दै परस्पर हार्दिकता आदान-प्रदान गर्छन्। परम्परा र विभिन्न समुदायका भाषा, लिपी, कला र संस्कृतिको संरक्षण हुने भएपछि स्थानीय सरकारलेपनि निरन्तर सहयोग गर्दै आएको महालक्ष्मी नगरपालिका धनकुटाका उपप्रमुखमञ्जुकुमारी कार्कीले बताउनुभयाे।

धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी लगायतका पूर्वी पहाडी-तराई जिल्लाहरुका साथै भारतका सिक्किम र दार्जिलिङ क्षेत्रमा पनि याक्खा बसोबास रहँदै आएको छ। तर पनि लोपोन्मुख बन्ने जोखिम रहेको यो समूदायका कला संस्कृतिको संरक्षण र प्रवर्द्धनमा युवा र पाका उमेर समूहसहित सबै क्षेत्रको ध्यान जानु भने जरुरी देखिन्छ।