Logo १८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025


इलाममा दुर्घटना न्यूनिकरण गर्न संयुक्त चेकिङ (भिडियाे रिपोर्ट)

चालकलाई अनुशाशित र जिम्मेवार बनाउने याेजना

0
Shares

इलाम। मेची राजमार्गको इलाम भञ्ज्याङ सामान्य दिन झैं सवारीचापले व्यस्त बन्दै गएकाे छ।

तर त्यो समय केही छुट्टै थियो राजमार्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था सेवा कार्यालय इलामको संयुक्त टोली खटिएको हाे। सामान्य जस्तो देखिने चेकिङभित्र पछिल्लाे समयमा बढ्दो सवारी दुर्घटनालाई रोक्ने गम्भीर उद्देश्य लुकेको छ।

इलाम-झापा जोड्न लाईफलाईनको रुपमा रहेको मेची राजमार्गको कयौं संवेदनशील क्षेत्रमा पछिल्ला समयमा सवारी दुर्घटना बढ्दै गएको छ। जसका कारण पनि संयुक्त चेकिङलाई अझ प्रभावकारी रूपमा अघि सारिएको हो । बुधबार यातायात ब्यवस्था सेवा कार्यालय इलाम र जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामको संयुक्त चेकिङमा मात्र एक दर्जन भन्दा बढी सवारी साधन कारबाहीमा परेका छन्।

कारबाही पर्नेमा कागजात नवीकरण नभएका, प्रदूषण जाँच नगरेका, ओभरलोड, हेल्मेट नलगाएका, सिटबेल्ट नबाँधिएका, सिग्नल वा सिसा बिग्रिएका र नबर प्लेट नभएका यस्ता त्रुटीहरू धेरै देखिएको इलाम जिल्ला ट्राफिक प्रहरी लिला नाथ न्यौपानेले जानकारी दिनुभयो।

यो चेकिङ कागजात मात्र होइन, चालकको व्यवहारदेखि सवारीको भौतिक अवस्था र प्रदूषणसम्म समेटिएको बहुआयामिक अनुगमन थियो। त्यस्तै, यातायात कार्यालय इलामका सूचना अधिकारी सुवर्ण खड्काले लापरबाही गरेर सवारी चलाएको भेटिएको सवारीलाई कारबाहीसँगै चालकलाई नियम र जोखिमकाे बारेमा तत्काल जानकारी तथा मार्गदर्शन पनि दिइएको साथै यो अनुगमनको दण्ड मात्र नभई सचेतना नै मुख्य लक्ष्यरहेको बताउनुभयो।

त्यस्तै, चेकिङका क्रममा प्रहरीले चालकहरूको व्यवहारलाई गम्भीरताका साथ मूल्यांकन गरेको थियो। धेरैले आधारभूत ट्राफिक नियम नै नबुझेको र कतिपयले बुझेर पनि त्यहीं लापरवाही दोहोर्‍याएको अवस्था भेटिएको ट्राफिक प्रहरी प्रमुख न्यौपानेको भनाइ छ। अनुशासनबिना सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने खतरा हुन्छ। यसले पनि चेकिङले चालकलाई जिम्मेवार बनाउने काम गर्छ। यता यातायात कार्यालयका इञ्जिनियर सुरज केशीका अनुसार सडकमा मर्यादित व्यवहार र सभ्य बानीसँगै सुरक्षित यात्रा सम्भवहुन सवारीसाधन समेत चुस्त हुनुपर्ने बताउनुहुन्छ।

इलामका ग्रामीण सडक, राजमार्ग र बजार क्षेत्रमा विगत केही वर्षमा सवारी चाप उल्लेख्य रूपमा बढेको छ । अनियमित पार्किङ, ट्राफिक व्यवस्थापनको चुनौती, समय अभाव र चालकको मनोवृत्ति यी सबै मिलेर जोखिम थपिएको हाे। अनुशासनबिना सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने खतरा हुन्छ। यसले पनि चेकिङले चालकलाई जिम्मेवार बनाउने काम गर्छ।

इलाममा समय समयमा हुने संयुक्त चेकिङ केवल एक दिनको अभियान मत्र नभइ सुरक्षित सडक, अनुशासित चालक र जिम्मेवार समाज निर्माण गर्ने दीर्घकालीन प्रक्रियाको प्रारम्भ रहेको बताईएको छ। सवारी चाप बढ्दै जाँदा चुनौती बढ्छ, तर नियम पालन र नियमित चेकिङले ती चुनौतीलाई पराजित गर्न सक्छ।

भिडियाे रिपोर्ट: