Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


कांग्रेसकाे १५औं महाधिवेशनप्रति किन आशंका ?

विशेष महाधिवेशन पक्षधर थप सशंकित र आक्रोशित

585
Shares

काठमाडाैं। नेपाली कांग्रेसको १५औं महाधिवेशनको मिति तोकिएसँगै त्यसको विभिन्न कोणबाट व्याख्या र विश्लेषण भइरहेको छ।

डेढ महिना भन्दा बढी चलेको केन्द्रीय समिति बैठकले आगामी पुस २६ देखि २८ गतेसम्म नियमित महाधिवेशन गर्ने निर्णय गरेको हाे। विशेष महाधिवेशन पक्षधरहरुले भने यो निर्णय प्रथम दृष्टिमा नै अव्यवहारिक र अवैज्ञानिक रहेको दावी गर्दै आएका छन्। त्यसका लागि उनीहरुले सामूहिक प्रस्ताव समेत बुझाएका थिए । अब त्यो प्रस्ताव के हुन्छ भन्नेमा धेरैको चासो बढेको छ।

कांग्रेसको विधान अनुसार वर्तमान केन्द्रीय कार्यसमितिको म्याद यहि मंसिर २३ गतेसम्म मात्र छ। कार्यकाल सकिन लागेपछि केन्द्रीय समिति बैठकले केन्द्रीय समितिसहित सबै तहको म्याद माघ मसान्तसम्म थप्ने निर्णय गरेको छ । १५औं महाधिवेशनको मिति पुसमै तोकिएको हाे। यो महाधिवेशनपछि पार्टीमा नयाँ नेतृत्वले गतिविधि अघि बढाउँने छ। महाधिवेशन पुसमै गर्ने तर, केन्द्रीय समितिसहित सबै पार्टी कमिटीहरुको म्याद माघ मसान्तसम्म किन थपियो ? भन्नेमा अन्योलको स्थिति छ। यसले विशेष महाधिवेशन पक्षधरहरुलाई थप सशंकित र आक्रोशित बनाएको छ।

विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले सामूहिक प्रस्ताव बुझाएका थिए । सोही प्रस्तावपछि पार्टीको केन्द्रीय समिति बैठक निकै लम्बिएको थियो। नियमित महाधिवेशनको मिति तोकिसकेपछि यो प्रस्ताव के हुन्छ भन्नेमा धेरैको चासो रहेको कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी परियारले बताउनुभयाे।

नियमित महाधिवेशनको मिति तय भएपछि विशेष महाधिवेशनको प्रस्ताव स्वतः निष्क्रिय हुने एकथरीको दावी छ। अर्कोतर्फ केही नेताहरुले विशेष महाधिवेशनको प्रस्ताव अझैं सक्रिय रहेको दावी गरिरहेका छन् । १५ औं महाधिवेशनको मिति तय भएता पनि समयमै महाधिवेशन हुनेमा थुप्रै आशंका छन्। त्यसैले पनि यो प्रस्ताव जीवित नै रहेको कांग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइलीले बताउनुभयाे।

यसरी हेर्दा, कांग्रेस फेरि अर्को समस्यामा फसेको देखिंदै छ। महाधिवेशन समयमै नहुने आशंका र विशेष महाधिवेशन पक्षधरलाई पेलेरै अघि बढ्ने संस्थापनको दाउले अर्को खतरा पैदा गरेको हाे। यो बीचमा कांग्रेसले कस्तो रोडम्याप तय गर्छ धेरैले चासोका साथ हेरेका छन्।