काठमाडाैं। आगामी निर्वाचनमा जान राजनीतिक दलहरुले सबै भन्दा पहिला सुरक्षाको ग्यारेन्टी खोजिरहेका छन् ।
विशेष गरेर लुटिएका हतियारले निर्वाचनमा सबै भन्दा जोखिम निम्त्याउने भन्दै प्रहरीले पनि विशेष अप्रेशन चलाइरहेको हाे। नेपाल प्रहरीले देशैभरी परिपत्र गर्दै लुटिएका हतियार खोजिका लागि छुट्टै टिम परिचालन गर्न निर्देशन दिएको छ।
गत भदौ २४ गते सबै भन्दा ठूलो भौतिक क्षति व्यहोरेको नेपाल प्रहरीले आगामी निर्वाचनको सुरक्षा तयारी शुरु गरिरहेको छ। आन्दोलनबाट प्रहरीका १ सय ४१ वटा भवन पूर्ण रुपमा ध्वस्त भएका थिए। ३ सय ४ वटा भवनमा भने आंशिक क्षति पुगेको थियो। जसमध्ये अब १६ वटा मात्रै संचालनमा आउन बाँकी छन् । तिनै जलाइएका भवनहरुबाटै प्रहरीको हतियार लुटिएको थियो भने हिरासतमा रहेका थुनुवाहरु पनि फरार भएका थिए। तर ति सबैलाई कारवाहीको दायरामा ल्याउन देशैभरी विषेश अप्रेशन चलाउन निर्देशन दिइएको हो।
भदौ २४ गते प्रहरी कार्यालयहरुबाट १३ सय ४२ थान हतियार पनि लुटिएका थियो। जसमा एसएलआर र पेस्तोहरु छन् । एसएलआर जस्ता ठूला हतियार प्रयोग गर्न नसके पनि पेस्तोल भने निर्वाचनको समयमा सबै भन्दा जोखिम हुने विष्लेषण प्रहरीको छ। तर यो तिन महिनाको अवधिमा ७ सय २३ थान हतियार बरामद भैसकेको हाे। हतियार खोजिका लागि सेनाले पनि साथ दिइरहेको छ।
सेनाले मात्रै २ सय ७४ थान प्रहरीबाट लुटिएका हतियार बरामद गरेर फिर्ता गरिदिएको हाे। त्यस्तै, कारगारबाट फरार रहेका १४ हजार ५ सय ५६ कैदीबन्दी मध्य ९ हजार ७ सय ३२ पक्राउ परिसकेका छन् भने फरार रहेका ४ हजार ८ सय १७ जनाको खोजिका लागि विषेश टोलि परिचालन भइसकेको नेपाल प्रहरीका प्रवक्ता अबि नारायण काफ्ले बताउनुभयाे।
आगामी निर्वाचनका लागि आवश्यक सवारी साधनमा पनि प्रहरीले ठूलो क्षति व्यहोरेको छ। प्रहरीले प्रयोग गर्ने ३ सय ३५ वटा मोटरसाइकल तथा गस्ति गर्ने र ट्रक समेत गरेर २ सय ३३ सहित ५ सय ७१ सवारी साधन ध्वस्त भएका थिए । सरकारले निर्वाचन सुरक्षाका लागि आवश्यक सवारी साधन खरिदका लागि बजेट सुनिश्चित गरिसकेको छ । अहिले अन्य सुरक्षा निकाय संग समन्वय गरेर एकीकृत योजना लागु भइसकेकाले निर्वाचन विथोल्न खोज्ने विरुद्ध कारवाहीका लागि तयार रहेको प्रवक्ता काफ्लेकाे दावी छ।
यस पटक विशेष परिस्थितिमा प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । १ सय ३५ भन्दा बढी राजनीतिक दलहरु दर्ता भैसकेका छन । सबै दल निष्पक्ष रुपमा निर्वाचमा सहभागी हुन पाउने र मतदातामा भयरहित वातावरण बनाउन पनि सुरक्षामा कुनै सम्झौता भयो भने मुलुकका लागि घातक हुन सक्छ।
भिडियाे रिपाेर्ट:





प्रतिक्रिया दिनुहोस्