तेह्रथुम। धनकुटाको शहीदभूमि गाउँपालिकामा यतिबेला वाडाङ्मी पर्वको रौनक छ।
कार्तिक पूर्णिमाको मंगलबारदेखि शुरु हुने वाडाङ्मी पर्व मनाउन स्थानीय छिलिङ राई जाति अहिले व्यस्त भएका हुन् । वाडाङ्मी पर्वमा पापानी नाच लोप हुन थालेपछि स्थानीय युवाको सक्रियतामा यसको संरक्षण गर्न थालिएको छ।
जिल्लाको शहीदभूमि गाउँपालिकामा नयाँ बाली भित्र्याइएको खुसीयालीमा ६ दिन ६ रातसम्म नाचगान गरी वाडाङ्मी पर्व मनाउने गरिन्छ। वाडाङ्मी पर्वमा राई जातिले १५ दिनसम्म कुलदेवताको पूजा गर्नुका साथै ढोल, झ्याम्टा बजाउदै लहरै कुम जोडेर पापानी नाच्ने गर्छन् । यो पर्वमा विशेष गरि जन्म, मृत्यु र विवाह संस्कारको महत्व जोडिएको छ।
पापानी नाच्दा सबै जना एकापसमा गोलो घेरा भएर खुट्टा तीन कदम अगाडी र तीन कदम पछाडी सारेर नाच्ने गर्छन् । पछिल्लो समय वाडाङ्मी पर्वमा पापानी नाच लोप हुने क्रममा रहेकोले यसलाई जोगाउन नयाँ पुस्ता पापानी गाउन सिकेर संरक्षणमा लागेको स्थानीय मोहन छिलिङ राईले बताउनुभयाे।
वाडाङ्मी पर्व सहिदभूमि गाउँपालिकाको आँखिसल्लाका छिलिङ राई, छिन्ताङका नाम्सिहाङ राई र खोकुका राईले विभिन्न पाछाका माङला हेरेर महत्वपूर्ण पर्वको रुपमा मनाउने गरेका छन्। वाडाङ्मी पर्वमा नाचिने पापानी नाचमा अन्य समुदायका मानिस सहभागी हुने पाउँछन् । पछिल्लो समय युवापुस्ताको विकर्षण हुँदा नाच घट्दै गएको समुदाय अभियन्ता नरेन्द्र राईले बताउनुभयाे।
परम्परागत संस्कार-संस्कृति संरक्षण हुने नाचमा अन्य जातीहरु समेत रमाउने गरेका छन् । पृथ्वी नारायाण शाह भन्दा अगाडीदेखि यो समुदायले जन्म-मृत्यु जस्ता संस्कारहरु गर्दै आएको यी समुदायका अग्रज व्यक्ति डिल्लराज राईले बताउनुभयाे। शहीदभूमिको खाल्सा क्षेत्रका छिन्ताङ, आखिसल्ला र खोकुका राईजाती साँस्कृतिक धरोहरको रुपमा आ-आफ्नो चाडपर्व मनाउने गरेका छन्।
यसको संरक्षणमा राज्यले अन्य पर्वको जस्तो चासो नदिएको उनीहरुको गुनासो छ।




प्रतिक्रिया दिनुहोस्