Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


‘ए’ डिभिजन लिगका लागि १४ क्लबले खेलाडी दर्ता गराए


0
Shares

काठमाडौं, असोज ६ । यही असोज १३ गतेदेखि सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि १४ क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा)मा खेलाडी दर्ता गराएका छन् ।

एन्फाले दिएको शुक्रबारसम्मको समयसीमाभित्र ‘ए’ डिभिजनका १४ क्लबले न्यूनतम् १८ देखि अधिकतम् ३५ खेलाडी एन्फामा दर्ता गराएका छन् ।

एन्फाले यसै वर्षदेखि खेलाडी दर्ताको प्रावधान ल्याएको हो । एन्फाले कम्तीमा १८ खेलाडी अनिवार्य दर्ता गराउनुपर्ने प्रावधान राखेको थियो ।

खेलाडीको दर्तासँगै मेडिकल इन्स्योरेन्स तथा खेलाडीले पाउने पारिश्रमिकको सम्झौतापत्रसमेत क्लबले एन्फामा दर्ता गराएको महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

एन्फाले सुरुमा भदौ ३० गतेको समयसीमा राखेर खेलाडी दर्ताका लागि क्लबलाई आह्वान गरको थियो । तर, क्लबले तयारी नपुगको भन्दै समय मागेपछि एक साता समय थप गरिएको थियो ।

शुक्रबारसम्म सहभागी १४ क्लबले विदेशी खेलाडीलाई समावेश गर्दै एन्फामा अनलाइन र हार्डकपी बुझाएका छन् ।

क्लबले दर्ता गराएका खेलाडीलाई सूचीकृत गर्ने काम भइरहेको बताउँदै ‘ए’ डिभिजनका लिग निर्देशक सन्जीव मिश्रले एक/दुई दिनमै खेलाडीको नामावली सार्वजनिक गर्ने बताए ।

सहभागी १४ मध्ये १२ क्लबले अनलाइनसहित हार्डकपीसमेत एन्फामा बुझाएका छन् भने फ्रेन्ड्स क्लब र मनाङ–मर्स्याङ्दीले अनलाइनबाटमात्र नाम दर्ता गराएका छन् ।

लिग सन्चालनका समयमासमेत क्लबले आवश्यक परेको अवस्थामा खेलाडी दर्ता गराउन पाउने एन्फाले जनाएको छ ।

यही असोज १३ गतेदेखि सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेल न्यूरोड टिम (एनआरटी) र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्रीस्टार, मनाङ–मर्स्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जाउलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, संकटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले खेल्नेछन् ।

‘राउन्ड रोबिन लिग’को आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख पाउनेछन् ।

लिगको चौंथो टोलीले रु १५ लाख, पाँचौं टोलीले रु सात लाख र छैटौंले रु पाँच लाख पाउनेछन् । ‘फेयर प्ले’ टिमले एक लाख पाउनेछन् ।

प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई ५० हजार तथा ‘म्यान अफ दी म्याच’ खेलाडीलाई रु १० हजार दिनेछ । रासस