Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


उपत्यकामा सुकुम्बासी समस्या झनै जटिल बन्दै (भिडियाे रिपाेर्ट)

विकल्प विना नहट्ने अडानमा सुकुम्बासी

572
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती व्यवस्थापनको विषय जटिल बन्दै गएको छ।

काठमाडौंका नदी किनार लगायतका स्थान अतिक्रमण गरी बसेकाहरुलाई हटाउन निरन्तर पहल भएता पनि त्यसले सार्थकता पाउन सकेको छैन। सुकुम्बासीहरु स्थायी विकल्प बिना बस्ती खाली नगर्ने अडानमा छन् । अर्कोतर्फ काठमाडौं महानगरपालिकालगायतले सुकुम्वासी बस्ती खाली गर्न निरन्तर ताकेता गर्दै आइरहेका छन्।

उपत्यकाका विभिन्न स्थानमा सुकुम्बासीहरु बसोबास गर्दै आइरहेका छन् । उपत्यकाका बागमती नदी किनारासहित, विष्णुमती, धोबी खोला, गोदावरी, मनोहरा र बल्खु खोला किनारामा विगत लामो समयदेखि सुकुम्बासीहरुको बसोबास छ। काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्ती खाली गर्न बारम्बार प्रयास गरिरहेको भएपनि विरोधका कारण सम्भव भएको छैन । २०६९ सालमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चलेको थियो ।

तर, विरोध भएपछि त्यतिबेला पनि सो कामले पूर्णता पाउन सकेन । त्यसयता महानगरपालिकाले पटक-पटक सुकुम्बासी बस्तीमा डोजर चलाउने प्रयास गरेपनि विरोध भइरहेको छ। स्थायी विकल्प बिना बस्ती हटाउन नहुने र भूमि ऐन बमोजिम लालपूर्जा दिनुपर्ने लगायतका सुकुम्बासीहरुका माग छन् । यता, काठमाडौं महानगरपालिकाले पटक-पटक बस्ती खाली गर्न ताकेता गर्दै आइरहेको छ। महानगर सुकुम्बासी बस्ती खाली गर्न डोजरसहित पुग्ने गरेको भएपनि विरोधका कारण त्यो सम्भव नभएको काठमाडौं महानगरपालिका सह–प्रवक्ता ध्रुवकुमार काफ्ले बताउनुभयाे।

सुकुम्बासीहरुको समस्या समाधानका लागि पटक पटक प्रयास भएता पनि ती सफल भएका छैनन् । राज्यले वास्तविक सुकुम्बासीहरुलाई पहिचान गरेर व्यवस्थापनको नीति अघि नबढाउदा समस्या उत्पन्न भएको हाे। सुकुम्बासीहरुलाई भोट बैंक मात्रै बनाउने तर उनीहरुको समस्या समाधानमा ध्यान नदिने हो भने यसले द्वन्द्व निम्त्याउने देखिन्छ। त्यसतर्फ सबै सचेत भएर अघि बढ्नुको विकल्प छैन।

भिडियाे रिपाेर्ट: