काठमाडाैं । देशमा राजस्व छलीका घटनाहरु व्यापक रुपमा बढिरहेका छन् ।
झुठा तथा नक्कली कर बिजकको प्रयोग गरी राजस्व छली गर्नेहरुमाथि प्रभावकारी रुपमा कारबाही अघि बढ्न सकेको छैन । जसका कारण राजश्व छली गर्ने व्यक्ति र कम्पनीहरुको मनोबल बढिरहेको छ। जेनजी युवाकाे आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले पनि राजस्व छलीमा संलग्नहरुलाई कारबाहीको दायरामा नल्याएको भन्दै आलोचना भइरहेको छ।
विभिन्न अनुसन्धानबाट १८ अर्ब रुपैयाँ भन्दा बढीको राजस्व छली भएको तथ्य सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका सरोकारवाला निकायहरूलाई कारबाही प्रक्रियाका लागि कडा चेतावनी दिएको थियो । तर, अख्तियारको चेतावनीपछि पनि सरकारबाट ठोस पहल नहुँदा सरकारमाथि नै प्रश्न खडा भइरहेका छन् । यति मात्रै होइन, यस्ता अन्य घट्नाहरु पनि छन् जहाँ अर्बौ रुपैयाँ बढी राजस्व छली भइरहेको छ ।
जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले राजस्व छलीमा संलग्न ठूला व्यवसायी र ठेकेदारहरूलाई कानूनी दायरामा ल्याउने प्रतिवद्धता जनाएको भए पनि, व्यवहारमा भने त्यसको प्रभाव देखिएको छैन । सरकारले यस विषयमा कुनै ठोस योजना सार्वजनिक गर्न सकेको छैन । यता, अर्थ मन्त्रालय मातहतको राजस्व अनुसन्धान विभागका प्रवक्ता कृष्णकुमारी श्रेष्ठले राजस्व छलीका विषयमा अनुसन्धान जारी रहेको बताउनुभयाे।
जेनजी आन्दोलनका क्रममा देशका विभिन्न भागमा रहेका राजस्व अनुसन्धान कार्यालयहरुमा क्षति भएपछि अनुसन्धान र कारबाहीको प्रक्रिया प्रभावित बनेको विभागले जनाएको छ । राजस्व छलीमा संलग्न ठूला व्यापारी, ठेकेदार र आयातकर्ताहरू कारबाही बिना स्वतन्त्रतापूर्वक कारोबार गरिरहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयदेखि अन्य सरकारी निकायलाई राजस्व चुहावट नियन्त्रणका लागि स्पष्ट कार्ययोजना, समयसीमा र जिम्मेवारी निर्धारणसहितको योजना तयार गर्न निर्देशन दिएको थियो । तर, सोही अनुसार कामकारबाही अघि नबढ्दा समस्या सिर्जना भएको प्रवक्ता श्रेष्ठकाे दावी छ।
राजस्व छली नियन्त्रणका लागि सरकारी निकायहरूले सन्तोषजनक प्रगति गर्न सकेका छैनन् । यसको साटो छलीमा संलग्न समूहसँग मिलेमतो गरेर अनुसन्धान नै प्रभावित बनाउन खोजेको आरोपहरु लाग्दै आएका छन् । यस्तो समयमा सरकारले कडा कदम चाल्नुपर्ने अवस्था हो । यस्ता गतिविधि रोक्न सरकारले कडा कदम नचालेको खण्डमा मुलुकको राजस्व सन्तुलनमा संकट आउने देखिन्छ।
भिडियाे रिपाेर्ट:




प्रतिक्रिया दिनुहोस्