Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


लुटिएका हतियार र विभिन्न समूहकाे आन्दोलनले सुरक्षामा थप चुनौती (भिडियाे रिपाेर्ट)

सडकमा दुई पक्षीय झडप आंकलनसहित सुरक्षा रणनीति बनाउँदै प्रहरी

520
Shares

काठमाडाैं । जेनजी युवाकाे आन्दोलनपछि देशैभरी सबै भन्दा ठूलो चुनौती सुरक्षा व्यवस्थामै देखिएको छ।

प्रहरीबाट लुटिएका हतियार, जेलबाट फरार भएका कैदीवन्दी र विभिन्न असन्तुष्ट समूहहरुले उठाउन खोजिरहेका सम्भावित आन्दोलनका कारण सुरक्षा ब्यवस्था थप जटिल बन्ने देखिएको हाे। दुर्गा प्रसाईदेखि जेनजीकै नाममा खडा भएका समूहरुले विरोध प्रदर्शनको प्रयास गरिहेका छन्। जेनजी आन्दोलनबाट सत्ताच्यूत भएको नेकपा एमालेले पनि प्रदर्शनको अभ्यास गरिरहेको छ। अहिले फाट्टफुट्ट निस्किरहेका यी समूह वा पार्टीहरु आगामी दिनमा शक्ति प्रदर्शनमा उत्रिए भने सडकमा दुई पक्षीय झडप हुनसक्ने आंकलनसहित सुरक्षा निकायहरुले राणनीति बनाइरहेका छन् ।

गत भदौ २४ गते नियोजित रुपमा आगो लगाउने र हतियार लुटनेहरुलाई प्रहरीले पक्राउ गर्न देशव्यापी अपरेशन नै चलाइरहेको छ । एकातिर लुटिएका हतियार सुरक्षाका लागि सबै भन्दा जोखिम बनिरहेका छन् भने त्यसैमा चाडपर्व सकिए लगत्तै सडकमा देखिएका विरोध र आन्दोलनका स्वरले सुरक्षामा थप जटिलता निम्त्याउने भएको छ। आइतबार मात्रै सरकारको विरोध गर्ने भन्दै माइतिघर पुगेको एक समूहलाई प्रहरी नियन्त्रणमा लियो । डाक्टर निकोलश भुसालको अराजक शैलीलाई पनि प्रहरीले नजिकबाट नियालिरहेको बताएको छ ।

त्यस्तै, गत चैत १५ गतेको घटनामा संगठित र ज्यानमार्ने उद्योग लगायतका मुद्दा खेपेर धरौटीमा रिहा भएका दुर्गा प्रसाईले फेरि आन्दोलनको हुँकार गरिरहनुभएकाे छ। प्रसाईले आगामी मंसिर ७ गतेदेखि आन्दोलनकाे नै घोषणा गरेकाले प्रसाईको आन्दोलनले सुरक्षा व्यवस्थालाई अप्ठेरो पार्न सक्ने आंकलन प्रहरीको छ । चैत १५ गतेको घटनाका मात्रै होइन, विभिन्न बैंकबाट लिएकाे ऋण नतिरेको आरोप समेत खेप्दै आउनु भएका प्रसाईले जेनजी आन्दोलनपछि गठन भएको बर्तमान सरकारको कडा आलोचना गर्दै आउनुभएको छ।

प्रसाईको आन्दोलनले अराजाकता मच्चाएर निर्वाचनको वातावरण विगार्न सक्ने भएकाले विषेश सतर्कता अपनाइएको प्रहरीको तर्क छ। स्वतन्त्र र सुरक्षित रुपमा आन्दोलन गर्ने अधिकार जोसुकैलाई भए पनि शान्ति व्यवस्था विथोल्न खोज्नेलाई कारवाहीको दायरामा ल्याउने तयारी रहेकाे जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवन भट्टराईले बताउनुभयाे।
प्रहरीबाट लुटिएका मध्य करिब ६ सय हतियार अझै भेटिएका छैनन् । ठूला भन्दा पेस्तोल जस्ता साना हतियार दुरुपयोगको जोखिम बढ्ने सुरक्षा निकायको विष्लेषण छ।

जेनजीहरुले पनि आफनो एकिकृत संगठन बनाउन नसकेको र एमालेसहितका राजनीतिक दल र दुर्गाप्रसाइ लगाएतले अहिलेको सरकारको विरोध गरिरहेका छन् । अर्कोतिर काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनलाई लिएर भएको विवाद शहरी विकास मन्त्री कुलमान घिसिंङले तत्कालका लागि सहमति गरे पनि दीर्घकालीन समाधान आइसकेको छैन । त्यसो त काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर पनि विवाद चलिरहेको छ।

फोहोर व्यवस्थापनमा देखिएको राजनीति र पुराना दलहरुको प्रतिशोधका कारण मेयर शाह आफैं पनि सुरक्षा चुनौतीमा पर्न सक्ने पनि देखिएको छ । काठमाडौंमा विरोधका कार्यक्रम आयोजनाका लागि प्रशासनसंग अनिर्वाय स्वीकृति लिन र हराएका हतियार फिर्ता ल्याउनका लागि पटक-पटक चेतावनी दिइरहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललेले बताउनुभयाे।

सरकारले सुरक्षा निकायका लागि सवारी साधान खरिद गर्न आवश्यक बजेट सुनिश्चित गरिसकेको छ । त्यसैले असहज परिस्थितिमा संगठित अपराध तथा नागरिकको दैनिक शान्ति दुवैका लागि सरकारले स्वतन्त्र काम गर्ने वातावरण दिनुपर्ने छ ।

भिडियाे रिपाेर्ट: