
सीता पाण्डे
पाल्पा, असोज ६ । पाल्पाको तानसेन र माथागढीमा नमूना औद्योगिक ग्राम स्थापना गर्ने प्रयास अझै सफल हुन सकेको छैन । औद्योगिक ग्राम स्थापनाका लागि आएको बजेट काम नभएपछि फिर्ता भएको छ ।
उद्योग स्थापना भई स्थानीय स्रोत र साधनको परिचालन हुने र रोजगारका अवसरको ढोका खुल्ने आशामा हौसिएका स्थानीयवासी भने निराश छन् ।
स्थानीय स्रोत र साधनको परिचालन गरी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पाल्पामा नमूना औद्योगिक ग्राम स्थापना गर्ने भन्दै दुई आर्थिक बर्षसम्म बजेट आयो । सर्वदलीय बैठकले पूर्वाधार विकास भएको करिब ५० रोपनीभन्दा बढी जग्गा तानसेन नगरपालिकाको बाघखोर र माथागढी गाउँपालिकाको सराईमा सिफारिश गरेको थियो । तर औद्योगिक ग्राम निर्माणका लागि गरिएका यी प्रयास भने देखाउनकै लागिमात्र गरिएजस्तो भयो । फलतः अहिलेसम्म पनि काम हुन सकेको छैन ।
औद्योगिक ग्राम स्थापना हुने भन्दै हौसिएका स्थानीयसमेत अहिले निराश देखिन्छन् । कर्मचारीले सक्रियता नदेखाउँदा बजेट फ्रिज भएको उनीहरुको बुझाइ छ ।
तर नमुना औद्योगिक ग्राम स्थापनाको लागि गतवर्ष नै विभागमा पठाइसके पनि यस विषयमा कुनै छलफल नभएकोले ५० लाख बजेट फ्रिज भएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख बालकृष्ण गैरेले बताए । विभागमा जानकारी लिँदा कार्यविधि निर्माण भइरहेको जवाफ आएको उनको भनाइ छ ।
कयौं कार्यक्रममा तदारुकताका साथ सक्रिय हुन नसक्दा यस्ता कैयौँ आयोजनाहरु बजेट भइकन पनि अलपत्र छन् । उत्पादनमूलक क्षेत्रको विकास आर्थिक समृद्धिका आधार भएकोले सबैजना यसमा गम्भीर हुनैपर्छ । आगामी दिनमा जिम्मेवार निकाय अलि गम्भीरतापूर्वक बढ्न आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्