काठमाडाैं । विवादास्पद व्यवसायी दीपक भट्टले १६ सय रोपनी भन्दा बढी जग्गा अनियमित रूपमा सञ्चालन गरेको गम्भीर आरोप लागेको छ।
सरकारी जग्गा, राष्ट्रिय निकुञ्ज क्षेत्र र हदबन्दी कानून उल्लंघन गरी ठूलो जग्गा कारोबार भएको खुलासा भएपछि राजनीतिक र प्रशासनिक हलचल तीव्र बनेको हाे। यस्ता गैरकानूनी धन्दा मच्चाउने भट्टलाई कानूनी कारबाहीमा ल्याउनुपर्ने दबाब बढ्न थालेको छ। डडेल्धुराको भद्रपुर गाविस–२ स्थायी ठेगाना रहेका विवादास्पद व्यावसायी भट्टले सयौं रोपनी जग्गामा हालीमुहाली गरेको खुलासा भएको छ । ती जग्गाहरु विभिन्न कम्पनीको नाममा दर्ता गराएर हालीमुहाली गरेको खुलासा भएपछि सरकारले लिने एक्सन के हुन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ । भट्टले कहाँ, कुन कम्पनीका नाममा कति जग्गामा हालीमुहाली मच्चाएका छन् त ?
१. ललितपुरको लामाटार टाउनसिप डेभलपमेन्ट
जग्गा: ७ सय ८ रोपनी
भट्टले लामाटार र गोदावरी आसपासका क्षेत्रमा ७ सय ८ रोपनी जग्गा विभिन्न चारवटा कम्पनीको नाममा दर्ता गराएको खुलेको छ । यो जग्गाका लागि हदबन्दीको स्वीकृत नै नलिएको भन्ने गम्भीर आरोप पनि भट्टमाथि लागेको छ । स्थानीयवासीहरूले यो जग्गाको मालपोत र नापी कार्यालयबाट परीक्षण गर्नुपर्ने माग गरिरहेका छन् । हदबन्दी कानून अनुसार एक व्यक्ति वा परिवारले सीमित जग्गा मात्र राख्न पाउने भएपनि यसरी सयौं रोपनी जग्गा विभिन्न कम्पनीको नाममा लुकाएर राखिएको आरोप छ।
२. लफ्सिफेदी टाउनसिप डेभलपमेन्ट
जग्गा: ९ सय रोपनी
लाफ्सिफेदी क्षेत्रमा भट्टले ९ सय रोपनी जग्गा खरिद गरेको खुल्न आएको छ । सो जग्गामा शिवपुरी निकुञ्जसँग जोडिएको सरकारी जग्गा समावेश भएको आरोप लागेको छ।
३. रामशाहपथ घोटाला
जग्गा: २५ रोपनी
भट्ट समूहको सबै भन्दा चर्चित र विवादास्पद जग्गा भनेको रामशाहपथको २५ रोपनी सरकारी जग्गा लिजमा लिएर विशाल परियोजना सञ्चालन गर्ने योजनाको हो । यो परियोजनामा नेपालकै सबैभन्दा ठूलो कर्पोरेट पार्क निर्माणको योजना रहेको छ । ७ सय गाडी पार्किङ क्षमताको सुविधा, १७ तल्ले भवन, निर्माण गर्ने महत्वाकांक्षी परियोजना, नेशनल ट्रेडिङ वा भृकुटीमण्डपको जग्गा ५ वर्षका लागि भाडामा लिइएको भाडा सम्झौतालाई दीर्घकालीन लिजमा रूपान्तरण गर्ने गोप्य योजना रहेको खुल्न आएको छ।
विकास राणा र सुष्मा राणाको संलग्नता
यी सबै कम्पनीहरूको शेयरधनीमा विकास राणा र सुष्मा राणा रहेको खुलासा भएको छ । राणा परिवारको संलग्नतापछि यो कारोबार थप विवादास्पद बनेको छ । पछिल्लो समय भट्टको कम्पनीमा काम गर्ने आदित्य आनन्द नामक व्यक्तिलाई केही कम्पनीहरूमा शेयरधनीको रूपमा लेखक गराइएको पनि खुलेको छ । जानकारहरुका अनुसार यो जग्गा लुकाउने रणनीतिको हिस्सा हो ।
बाबु चतुर्भुज भट्टको नाममा पनि जग्गा:
केही जग्गाहरू भट्टका बुबा चतुर्भुज भट्टको नाममा समेत रहेको र त्यसलाई विभिन्न कम्पनीको नाममा लुकाइएको आरोप लागेको हाे । परिवारका विभिन्न सदस्यहरू र सम्बद्ध व्यक्तिहरूको नाममा कम्पनी खोलेर हदबन्दी कानून बेवास्ता गरिएको गम्भीर आरोप छ। भट्टका यस्ता कर्तुतहरु बाहिरिएपछि तत्काल अनुसन्धान गरी कारबाहीको प्रक्रिया अघि बढाउन दबाब बढेको छ । भट्टको अर्बाैंको गैरकानूनी सम्पति जफत गरी मुलुक पुननिर्माणमा लगाउन भन्दै जेनजी अलायन्सले अख्तियारमा उजुरी समेत दर्ता गरिसकेको छ।
यो घटनाले नेपालको भूमि सुधार र हदबन्दी कानून कत्तिको कमजोर छ भन्ने प्रश्न खडा गरेको छ । प्रभावशाली व्यक्तिहरूले कसरी कानून उल्लंघन गरेर हजारौं रोपनी जग्गा आफ्नो नियन्त्रणमा राख्न सक्छन् भन्ने विषयले सरकारको विश्वसनीयतामा प्रश्न उठेको छ । अन्तरिम सरकारले यस्ता गैरकानूनी गतिविधि गर्ने विवादास्पद व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउँछ कि ल्याउँदैन ? त्यो हेर्न बाँकी नै छ।
भिडियाे रिपाेर्ट:




प्रतिक्रिया दिनुहोस्