काठमाडाैं । प्रहरीले पछिल्लो समय गत भदौ २४ गते सिंहदरबारसहित सरकारी तथा निजी सम्पत्तिमा भएको आगजनी र लुटपाटका घटनामा संलग्नहरुलाई धमाधम पक्राउ गरिरहेको छ।
भदौ २३ र २४ गतेका घटना छानविन गर्न गठित आयोगले आगजनी र लुटपाटका घटनामा संलग्नहरुलाई फौजदारी अपराधमा कारबाही गर्न भनेपछि प्रहरीले निर्ममतापूर्वक पक्राउ अभियानमा लागेको हो । तर पक्राउ गरिएकाहरुमाथिको अनुसन्धान अघि बढाउँदो अधिकांश आपराधिक पृष्ठभूमिका देखिएको प्रहरीको दावी छ।
भदौ २३ र २४ गतेका घटनाको जाँचबुझ आयोगले छानविन गरिरहेको छ । तर २४ गते सरकारी र निजी संरचनाहरुमा आगो लगाउने र प्रहरीको हतियार लुटनेहरु विरुद्धको अनुसन्धान भने नेपाल प्रहरीले अघि बढाएको हाे । भदौ २४ गतेको घटना २३ गते सरकारी पक्षबाट भएको ज्यादतीको परिणाम स्वरुप स्वस्फूर्त भीडले गरेको थियो वा निययोजित थियो भन्ने प्रश्नको जवाफ विस्तारै आउन थालेको छ । जाँचबुझ आयोगलेनै २४ गतेको घटना पूर्णरुपमा आपराधिक भएकाले सबैलाई फौजदारी कसुर अन्तर्गत कारवाही गर्नु पर्ने स्पष्ट पारे पछि प्रहरीले अहिले निर्मम रुपमा कारवाही चलाइरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले विशेष अप्रशेन चलाइरहेको छ।
प्रहरीको अनुसन्धानले भदौ २४ गते ५ प्रकारका आपराधिक घटना नियोजित रुपमा भएको देखाएको छ । प्रहरीको हत्या , सुरक्षाकर्मीको हतियार लुटपाट , आपराधिक उपद्रव अर्थात आगजनी , तोडफोड तथा लुटपाट र चोरीका घटनामा नियाजित समुह संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले चलाएको कारवाहीमा मात्रै अहिलेसम्म ४ महिलासहित १ सय १६ जना पक्राउ परेका छन ।
जसमा हत्यामा संलग्न १० जना छन् भने हतियार लुटने २१ जना पक्राउ परेका छन । आगजनी गर्ने ७२ जना र चोरीमा संलग्न २ जना पनि अहिले प्रहरी हिरासतमा छन् । केहीलाई हाजिर जमानीमा छोडेर पनि अनुसन्धान चलिरहेको छ । पक्राउ परेकाहरु माथिको अनुसन्धानले आगो लगाउने, प्रहरीको हतियार लुटने र चोरीमा संलग्नहरु अधिकांश ठाउँमा एउटै व्यक्ति खटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवन भट्टराईकाे भनाइ छ।
पक्राउ परेका मध्य अधिकांशको पृष्ठभुमि आपराधिक देखिएको दावी पनि प्रहरीको छ । हत्या , चोरी र लुटपाटका घटनाा कारवाही भोगिसकेका व्यक्तिहरु नै भदौ २४ गतेको घटनामा परिचालन भएको पक्राउ परेकाहरुको तथ्याँकबाट खुलेको हो । त्यसोत जघन्य अपराधमा २५ वर्ष भन्दा कम उमेरका किशोरहरु सबै भन्दा बढी परिचालन भएका छन् । १५ देखि २४ वर्ष उमेर समूहका हत्यामा ८ जना र हतियार लुटपाटमा १७ गरेर ५६ जना पक्राउ परेका हुन ।
काठमाडौंको घटनामा संलग्न रहेका २५ देखि ३४ वर्ष उमेरका ४१ जना पक्राउ परेका छन् । ३४ वर्ष भन्दा माथि उमेर भएका १९ जना छन्। ४ जना नाबालिक अर्थात १८ वर्ष भन्दा कम उमेरका बालबालिका पनि लुटपाट र आगजनीमा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ। अपराधमा संलग्नहरुलाई कारवाहीका लागि आफू तयार भैसकेको र पक्राउ परेका अधिकांश आपराधिक पृष्ठभुमिका भएको निष्कर्ष निकालेको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयाे।
उता, उच्च स्तरिय आयोगले पनि आफनो छानविन गरिरहेकै छ । सरकारी पक्षबाट भएको बल प्रयोग र आगजनीमा कसरी समूह परिचालन गरिएको थियो र आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिने रायसहितको प्रतिवेदन आयोगले बुझाउने छ । सरकारका लागि सुरक्षित निर्वाचन गराउन र नागरिकलाई सुरक्षाको प्रत्याभूत दिलाउन पनि आपराधमा संलग्नहरुलाई तत्काल कारवाहीको दायरामा ल्याएर मात्रै पुग्दैन उनीहरुलाई परिचालन गर्ने नेतृत्वसम्म पुग्न सक्नुपर्छ ।




प्रतिक्रिया दिनुहोस्