Logo २ कार्तिक २०८२, आइतबार | Sun Oct 19 2025


क्षयरोग निवारण संस्थाको पुस्तक विमोचन


39
Shares


केके मानन्धर

काठमाडाैं । नेपाल क्षयरोग निवारण संस्था भक्तपुरको परिचय शीर्षकको पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएकाे छ।

विभिन्न व्यक्तित्वहरूको सहभागितामा चाणक्य कलेजको सभाहलमा शनिबार पुस्तक विमोचन गरिएको हाे। मध्यपुर थिमिका बहुआयामिक व्यक्तित्व बाबुकाजी साःछेँ श्रेष्ठले धेरै वर्षदेखिको आफ्ना अनुभव र सरोकारहरूसँग छलफल गरेर पुस्तक तयार गर्नुभएको थियाे । संस्थाको गतिविधि र इतिहासलाई दस्तावेजीकरण गर्ने उद्देश्यले पुस्तक तयार गरेको बताइएको छ ।

एक कार्यकालको लागि संस्थालाई नेतृत्व गर्नुभएका उहाँले करिब ४ दशकदेखिको इतिहास र पदाधिकारीहरूको भूमिकाको विस्तृत सूचीसहितको विवरण पुस्तकमा उल्लेख गर्नुभएको छ। त्यतिबेला नेपाली समाजमा पूर्वजन्ममा गरेको पापकै कारण व्यक्तिले रगत बमन गरेर मर्छ भन्ने खालको भ्रम थियो।

क्षयरोग निवारण संस्थाले योखाले समाजको गलत धारणालाई चिरेर जनचेतना जगाउने अभियान चलाएको थियो । आखिरमा क्षयरोग हुँदा रक्तस्राव हुने हो न कि पाप कर्मको प्रतिफल स्वरुप। यद्यपि, डाक्टरहरूको प्रत्यक्ष निगरानीमा र निर्धारित अवधिसम्म औषधि सेवन गरेमा क्षयरोग निको हुन्छ। संस्थाले धेरै वर्ष अघि गाउँ पञ्चायतको स्वीकृतिमा जग्गा लिई विभिन्न ठाउँबाट बजेट निकालेर भक्तपुरमा भवन निर्माण गरेको छ।

२०४२ सालदेखि यो संस्थाले क्षयरोग सम्बन्धित सामाजिक कार्य गर्दै आएको छ। हालसम्म यो संस्थाले देशका विभिन्न भागमा रहेका बिरामीहरूको पहिचान गरी उपचार गर्न प्रोत्साहित गर्दै आएको छ। क्षयरोग रोकथामको मुख्य उद्देश्यका साथ संस्थाले रोकथाम, नियन्त्रण, उपचार सुविधा प्रदान गर्ने, सामाजिक तथा स्वास्थ्य शिक्षा, सरकार तथा स्वास्थ्य निकायहरूसँग सहकार्य, अनुसन्धान र तथ्यांक संकलन गर्दै आएको छ ।

पुस्तक विमोचन कार्यक्रममा अधिवक्ता तुइलाल श्रेष्ठ, हिरण्य प्रताप सांगामी, केके मानन्धर र राम सिख्वः लगायतको सहभागिता थियो । क्षयरोगलाई स्थानीय भाषामा गंल्वय् र अंग्रेजी भाषामा टिबी भनिन्छ । टिबीको शाब्दिक अर्थ टुबरक्लोजिज् हो ।