
इलाम । विगत १४ दिनदेखि अवरुद्ध रहेको मेचीराजमार्ग अन्ततः शनिबार रातिदेखि ञ्चालनमा आएको छ।
गत असोज १८ गतेको भीषण वर्षा र पहिरोका कारण इलामको माईखोला राजदुवाली खण्डमा पहिरोले सडक भत्किएपछि यातायात पूर्ण रूपमा ठप्प भएको थियो । झापा–इलाम–पाँचथर–ताप्लेजुङ जोड्ने मुख्य जीवनरेखा मानिने साेही राजमार्ग सञ्चालनमा आएसँगै स्थानीयवासीले राहतको सास फेरेका छन्।
सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले लगातारको प्रयास र स्थानीयको सहयोगमा अन्ततः सडक खुलाउन सफल भएकाे बताउनुभयाे।
उहाँले भन्नुभयाे,-‘हामीले दिनरात खटेर काम गर्यौं । कठिन भौगोलिक अवस्था र लगातार वर्षाका कारण चुनौती धेरै थियो । तर अन्ततः शनिबार राति ९ बजेदेखि सवारीसाधन सञ्चालनमा ल्याउन सक्यौं।’ मेची राजमार्गको विभिन्न स्थानमा पहिरोले सडक भत्किंदा यातायात पूर्ण रूपमा रोकिएको थियो । सडकका अन्य स्थानको पहिरो यस अघि नै हटेता पनि माईखोला खण्डमा पहिरो हटाउन समस्या रहेको थियो ।
सडकका विभिन्न स्थानमा ठूला पहिरो हटाउन डोजर र एक्साभेटर लगायतका उपकरण प्रयोग गरिएको थियो । सोही क्रममा माईखोला राजदुवालीको पहिरो हटाउन सडक विभाग, नेपाली सेना, सशस्त्र प्रहरी ,नेपाल प्रहरी र स्थानीय बासीन्दाले समेत श्रमदान गरी सहयोग गरेका थिए ।
झापादेखि इलाम हुँदै ताप्लेजुङसम्म दैनिक सयौं सवारी साधन आवत-जावत गर्ने यो सडक अब सञ्चालन हुँदा व्यापार, आपूर्ति र आवागमन सहज भएको स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्